दमन भए प्रतिरोध : विप्लव

काठमाडौ, ३१ जेठ । नेकपा माओवादीका महासचिब नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तामाथि दमन भए प्रतिरोध गर्ने चेतावनी दिएका छन । माओवादीका महासचिव विप्लवले आज समाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर यस्तो चेतावनी दिएका हुन् । लगातार एनसेलको बेस स्टेसनमा रहेका टावरमाथि आक्रमण गरेको भन्दै प्रहरीले माओवादीका कार्यकर्ताहरुलाई पक्राउ गर्न थालेको समयमा महासचिब विप्लवको यस्तो अभिव्यक्ति आएको हो । उनले फेसबुक स्टाटसमा भनेका छन्, ‘हामी तिम्रा जस्तो सुकै र जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्छौं । किनकी यो तिम्रो बेइमानी गद्दारी, चाकडी, कालोबजारी र लुटको जगमा उभिएको छ । अनि टावरका रक्षक बनेका विश्वासघातीहरु हामीले तिमीले पनि राम्रोसँग चिनेका छौं । याद गर दमन भए प्रतिरोध हुनेछ ।’
गृहमन्त्री शक्ति बहादुर बस्नेतले विप्लव नेतृत्वको माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको अर्को दिन विप्लवले आफ्नो प्रतिक्रिया बाहिर ल्याएका हुन् । गृहमन्त्री बस्नेतले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रलायमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिने विप्लवका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन दिएका थिए ।