आज विश्व रक्तदाता दिवस
काठमाडौ, ३२ जेठ । हरेक रक्तदाता नायक हो भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस मनाईंदैछ । दिवसका अवसरमा नेपालमा पनि सरोकारवाला संघसंस्थाले अन्तरकृया, –याली लगायतका विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दैछन् ।
विश्वभरका रक्तदाताको सम्मान गर्ने उद्धेश्यले रगतको ए बी र ओ समूह पत्ता लगाउने चिकित्सक कार्ल्स ल्याण्डस टिनरको जन्मदिन पारेर हरेक वर्ष जुन १४ का दिन यो दिवस मनाउने गरिन्छ । बिरामीको ज्यान बचाउन मद्दत गर्ने स्वयंसेवी रक्तदातालाई धन्यवाद दिन र सम्मान गर्न सन् २००४ देखि विश्व स्वास्थ्य संगठनको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
नेपालमा समाजसेवी दयाविरसिंह कंशाकारले पहिलो पटक रक्तदान गरेर रक्तदाता अभियान थाले यता हालसम्म पौने २ लाख मानिसले रक्तदान गरिसकेको तथ्यांक छ । पछिल्लो समय नेपालमा पनि रक्तदाताहरुको संख्या बढ्दै गएको छ । स्वस्थ पुरुषले तीन महिनाको फरकमा वर्षको ४ पटक र स्वस्थ महिलाले ४ महिनाको फरकमा बर्षको तीन पटक रक्तदान गर्न सक्ने चिकित्सकहरु बताउँछन् ।