घुस माग्ने अधिकृत कुटिए
काठमाडौ, ३२ जेठ । डोटीमा जिल्लाको बर्छेन गाविसस्थित लानाकेदारेश्वर इलाका वन कार्यालय विपिनगरमा कार्यरत सहायक वन अधिकृत गुञ्जन गहतराजमाथि स्थानिय एक जडिबुटी ठेकेदारसँग घुस माग्दा कुटपिट भएको बताइएको छ । गहतराजको आँखामा चोट लागेको र उपचारका लागि काठमाडौं लगिएको जनाइएको छ । जडिबुटी ठेकेदार टेकबहादुर बोहरालाई जिल्ला वन कार्यालय डोटीले छुट पुर्जी दिएको भए पनि इलाका वन कार्यालय विपिनगरका प्रमुख गहतराजले ५० हजार नदिए जाँचपास पुर्जी नदिने बताएपछि घटना भएको हो ।
हातपात गर्ने ठेकेदारका छोरा हर्क बोहरा अहिले प्रहरी नियन्त्रणमा छन् । जडिबुटी बोकेको गाडी रोकेको कारण बुझ्न खोज्दा अधिकृत गहतराजले आफुलाई गाली गर्दै एक चड्कन हिर्काएपछि सहन नसकेर आफुले पनि मुक्का हिर्काएको बोहोराले बताए ।
आफ्ना कर्मचारीमाथि भएको घटनाबारे बुझ्ने क्रम भइरहेको जिल्ला वन कार्यालय डोटीका जिल्ला वन अधिकृत बद्री कुमार कार्कीले जानकारी दिए ।
कर्मचारीमाथि कुटपिट हुनु गलत भएको बताउदै उनले घुस मागेको साँचो ठहरिए सहायक वन अधिकृत गुञ्जन गहतराजलाई पनि कानुन बमोजिम कारवाही गरिने बताए ।