माओवादी मैदानमा , दमन भए प्रतिरोध

काठमाडौ, १ असार । नेकपा माओवादी सरकारको दमनकारी रवैयाविरुद्ध मैदानमा उत्रिएको छ । उसले आफ्ना कार्यकर्तामाथि दमन भए प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ । माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर यस्तो चेतावनी दिएका हुन् । लगातार एनसेलको बेस स्टेसनमा रहेका टावरमाथि आक्रमण गरेको भन्दै प्रहरीले माओवादीका कार्यकर्ताहरुलाई पक्राउ गर्न थालेको समयमा महासचिब विप्लवको यस्तो अभिव्यक्ति आएको हो । उनले फेसबुक स्टाटसमा भनेका छन्, ‘हामी तिम्रा जस्तो सुकै र जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्छौं । किनकी यो तिम्रो बेइमानी गद्दारी, चाकडी, कालोबजारी र लुटको जगमा उभिएको छ । अनि टावरका रक्षक बनेका विश्वासघातीहरु हामीले तिमीले पनि राम्रोसँग चिनेका छौं । याद गर दमन भए प्रतिरोध हुनेछ ।’
गृहमन्त्री शक्ति बहादुर बस्नेतले विप्लव नेतृत्वको माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको अर्को दिन विप्लवले आफ्नो प्रतिक्रिया बाहिर ल्याएका हुन् । गृहमन्त्री बस्नेतले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रलायमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिने विप्लवका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन दिएका थिए ।
यसैगरी , नेकपा माओवादीले जनताको माग बमोजिम एनसेल माथि कारवाही गरेको बताउदै एनसेल र सरकारको दमनकारी रवैया विरुद्ध कडा संघर्ष गर्ने जनाएको छ । माओवादीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरि सो कुरा बताएका हुन् । “एनसेलले ४३ अरब कर नतिरी देशलाई घाटा पुर्याएको र सरकारी दलालसंग मिलेर नेपाल टेलीकमलाई सखाप पार्ने नियोजित योजनामा लागेको प्रमाणसहित नागरिकहरुबाट चौतर्फि कार्यवाहीको माग आएकोले कारवाही गरेका हौँ ” प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रवक्ता प्रकाण्डले एनसेलको यो खेलमा कान्तिपुर सहित केही पत्र – पत्रिकाले स्याल हुइया मच्चाउदै कडा कार्यवाही गर्नु पर्ने दुरगन्धित प्रचार ओकली रहेकामा रोष प्रकट गरेका छन् । सरकारलाई कर नतिर्ने कम्पनिलाई सरकारले नै कारवाही गर्नुपर्नेमा आफुहरुले कारवाही गर्दा सरकारले दमन गरेको भन्दै उनले विरोध जनाएका छन ।
प्रवक्ता प्रकाण्डले सरकारले गर्नुपर्ने काम माओवादी कार्यकर्ताले गर्दा विभिन्न स्थानहरुबाट गिरफ्तार गरिएका कार्यकर्ताहरुलाई यथाशीघ रिहा गर्न माओवादीले माग गरेको छ ।
प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्ति पूर्ण पाठ यस्तो छ : ” एनसेल माथिको कार्यवाहीबारे वक्तव्य : जेष्ठ २९ गते एनसेल मोबाएल फोनका टावरहरुमा कार्यवाही भयो । एनसेलले ४३अरब कर नतिरी देशलाई घाटा पुगाएको, राष्ट्र र जनतालाइ ठगी गरेको, जनताको सुविधाको नाममा चर्को शुल्क असुली गरेको साथै सरकारी दलालहरु संग मिलेर नेपाल टेलीकमलाई सखाप पार्ने खेल खेलेको प्रमाण सहित कार्यवाहीको माग चौतर्फि नागरिकहरुबाट आएकोले कार्यबाही भएको हो ।
यो कार्यवाही हाम्रो पार्टीको अपिल र नेपाली जनताको सहभागितामा भएको छ । जो एक दमै जायज छ भन्ने हाम्रो ठहर छ ।
कार्यवाही पछि सरकारले हाम्रा पार्टीका कार्यकर्ताहरुलाई विना प्रमाण गिरफतार गरिरहेको छ भने योजनाकारलाई पनि समात्ने भन्दै पार्टीलाई मनोवैज्ञानिक दवाव दिन खोजेकोछ ।
कान्तिपूर सहित केही पत्र पत्रिकाले स्याल हुइया मच्चाउदै कडा कार्यवाही गर्नु पर्ने दुरगन्धि प्रचार ओकली रहेका छन् । सरकारले के बुझन जरुरी छ भने भ्रष्ट, तस्कर, दलालहरुलाई कार्यवाही गर्नुको सट्टा राज्यको पक्षमा काम गर्ने पार्टी र नेता कार्यकर्तालाई गिरफतार गर्ने सोच भनेको भ्रष्ट, कालावजारी, दलालहरुलाई संरक्षण गर्ने र जनता माथि दमन चलाउने प्रतिक्रियावादी निरंकुश सत्ताको रवैया हो । त्यस्तै कान्तिपुर जस्ता पत्रिकाहरुको घटिया प्रचार दलालहरुबाट लाभ लिने र जनता विरुद्ध राज्यलाई दमन गर्न उक्साउने ध्वंसवादी प्रवृत्ति हो । सरकारको दमनकारी नीतिले माओवादी पार्टीलाई न्यायको पक्षमा लडने दृढताबाट कलिकति पनि बिचलित गर्न सक्नेछैन , वरु जस्ले भ्रष्ट र दलालहरुको संरक्षण गर्दछ साथै उनीहरुको रक्षामा भ्रमप्रचार गर्दछन् तिनलाई नै चर्को मूल्य चुकाउनु पर्नेछ ।
अतः राज्यले पार्टी कार्यकर्ता भएको आधारमा कुनै प्रमाण विनानै जसरी दर्जनौ कमरेडहरुलाई गिरफतार गरिएको छ तुरुन्त रिहा गरियोस अन्यथा पार्टीले एनसेल र सरकारको दमनकारी रवैया विरुद्ध अरु कडा संघर्ष घोषणा गरेर जाने चेतावनी दिन चाहन्छौं । “