अब एसएमएसबाटै ट्याक्सी भाडाको जानकारी

काठमाडौं -उपत्यकामा चल्ने ट्याक्सीको भाडाको जानकारी अब मोबाइलबाट नै पत्ता लगाउन सकिने भएको छ ।मोबाइल सेटको म्यासेजबक्समा गई अंग्रेजीमा ‘ट्याक्सीरेट’ टाइप गरी ४३२१ मा एसएमएस गर्नुस्, केही सेकेन्डमै हाजिर हुन्छ, ट्याक्सी भाडादर। एसएमएसबाट ट्याक्सी भाडा जानकारी गराउने सेवा आइतबार सुरु भइसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सर्वसाधारणले उक्त नम्बरमा एसएमस पठाएपछि दिउँसो प्रतिकिलोमिटर ३२ रुपैयाँ भाडा र वेटिङ चार्ज १० रुपैयाँ तथा राति प्रतिकिलोमिटर ४८ रुपैयाँ भाडा र १५ रुपैयाँ वेटिङ चार्ज लेखिएको जवाफी एसएमएस आउँछ।ट्याक्सीले उपभोक्ता ठग्ने प्रवृत्ति बढ्दै गएपछि सर्वसाधारणलाई उपत्यकाभित्रको ट्याक्सी भाडा जानकारी दिन एसएमएस सेवा सुरु गरेको महाशाखाले जनाएको छ। ४३२१ नम्बरमा एसएमएस गर्दा नेपाल टेलिकम ग्राहकले प्रति एसएमएस दुई रुपैयाँ तथा एनसेल र युटिएलकाले ३ रुपैयाँ तिनुपर्नेछ। विभिन्न दूरीको भाडा थाहा पाउन सोही व्यहोरा लेखेर एसएमएस गरे हुन्छ। कलंकीबाट कोटेश्वर जानु छ भने ट्याक्सीरेट स्पेस कलंकी स्पेस टु स्पेस कोटेश्वर लेखेर एसएमएस गर्नुपर्ने महाशाखाले जनाएको छ। ट्याक्सीचालकको व्यवहारप्रति कुनै गुनासो भए ट्याक्सी स्पेस ट्याक्सी नम्बर स्पेस गुनासो लेखी उल्लेखित नम्बरमा पठाउनुपर्छ।प्रतिकिलोमिटर दिन र रातको भाडा, एक ठाउँबाट अर्को ठाउँ पुग्दाको भाडा र गुनासो टिपाउन पहिलोपटक एसएमएस सेवा सुरु गरिएको महाशाखाले जनाएको छ। १०३ मा फोन गरेर ट्राफिकसम्बन्धी गुनासो टिपाउने व्यवस्था यथावत छ।
महाशाखाका अनुसार हाल उपत्यकामा करिब साढे छ हजार ट्याक्सी गुड्छन्। ‘हामीले शुल्क र गुनासो टिपाउन आजदेखि एसएमएस सेवा सुरु गरेका छौं,’ महाशाखा प्रमुख उपेन्द्रकान्त अर्यालले भने, ‘ट्याक्सीबाट हुने उपभोक्ता ठगी कम गर्ने हाम्रो यो राम्रो प्रयास हुनसक्छ।’ महाशाखाले आइतबार एक कार्यक्रम गरी नयाँ सेवाको जानकारी गराएको हो। उपत्यकाभित्रका ६ सय १२ ठाउँमा एकबाट अर्कोमा पुग्दा लाग्ने भाडाको जानकारी एसएमएसमार्फत पाइन्छ। उक्त विवरण ब्रोसर र होडिङबोर्डमा पनि उल्लेख हुने महाशाखाको भनाइ छ।ट्याक्सी भाडाबारे जानकारी गराउन महाशाखाले ब्रोसर तयार पारेको र त्यो पनि वितरण गर्ने अर्यालले बताए। ‘कतिपय उपभोक्ता एसएमएस गर्न नजान्ने पनि हुन्छन्, उनीहरुलाई लक्षित गरी ब्रोसर प्रकाशनमा ल्याएका छौं,’ उनले भने, ‘जसले उपझोक्तालाई थप सहज हुन्छ।’
भाडादरबारे जानकारी गराउन कोटेश्वर, पुरानो बसपार्क, नयाँ बसपार्क, महाराजगन्ज र कालिमाटीमा होडिङबोर्ड राख्ने तयारी भइरहेको महाशाखा प्रवक्ता पवनकुमार गिरीले बताए।गिरीका अनुसार एसएमएस शुल्कमध्ये ५० प्रतिशत सेवा प्रदायक कम्पनीले र २५/२५ प्रतिशत ट्राफिक र एसएमएस नं ४३२१ प्रदायक निजी कम्पनी फोकस वनले लिनेछन्। ‘उठेको पैसा पारदर्शी ढंगले राजस्वमा दाखिला गर्छौं,’ उनले भने, ‘दररेट परिवर्तन भए सोही अनुसार गरिनेछ।’ हालको दररेट महाशाखालाई गुणस्तर तथा नापतौल विभागले उपलब्ध गराएको हो। भाडदर परिवर्तन भएपछि विभागले उपलब्ध गराउने उनले बताए।अहिले उपलब्ध गराइएका ६ सय १२ स्थानलाई भविष्यमा बढाउँदै लैजाने महाशाखाले जनाएको छ। वैशाखदेखि नै एसएमएस सेवा सुरु गर्ने तयारी गरेकोमा प्राविधिक कारणले ढिलो भएको गिरीले बताए। उनका अनुसार उपत्यकामा ट्याक्सीले उपभोक्ता ठग्न थालेको गुनासो बढिरहेकोले यस्तो सेवा थपिएको हो। ‘हामी केबल प्रविधिको प्रयोग गरेका हौं, यसले उपभोक्तालाई भाडादरबारे सुसूचित गराई ठगिनबाट जोगिन मद्दत गर्छ,’ गिरीले भने, ‘डाटा इन्ट्रीको काम ट्राफिक महाशाखाले गरेको छ।’
महाशाखाले पुस २९ गते थालेको ट्याक्सी ठगी र अनियमितता विरुद्धको चेकजाँचमा हालसम्म १ हजार ४ सय २४ वटालाई कारवाही गरेको जनाएको छ। त्यसैगरी, ३६ वटा मिटर जफत भइसकेको छ। यसबाट १९ लाख ८१ हजार ६० रुपैयाँ राजश्व उठेको महाशाखा प्रमुख अर्यालले जानकारी दिए।
‘यसबाट हामी ट्याक्सी अनियमितता कम गर्न सफल भएका छौं,’ अर्यालले भने, ‘एसएमएस प्रणालीले अझै कम गर्नेछ।’ महाशाखाले ट्याक्सी ठगीसम्बन्धी गुनासो एसएमएसबाट कन्ट्रोल रुममा पठाएर तुरुन्तै समाधानको प्रयास थाल्ने उनले जानकारी दिए।
उपभोक्ता ठग्न ट्याक्सी चालकले सकेसम्म मिटरमा नभई मोलमोलाइमा जाने, मिटरमै जानुपर्दा बढी पैसा असुल्न सिल तोड्ने, ‘कल फास्ट’ गराउने, छुस राख्ने र टाइमर बिगार्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ। मिटरको सिल चुँडाल्ने, अर्थिङ गर्ने लगायतका उपायबाट बढी पैसा उठाउने बनाउन सकिने नेपाल गुणस्तर तथा नापतौल विभाग बताउँछ। हर्न र एफएम बजाउँदा पनि मिटर बढी घुम्ने विभागका एक कर्मचारीले बताए। जानकारका अनुसार हजार मिटरमा एक कल हुनुपर्छ। तर, अधिकांश ट्याक्सीमा ६ सयमै एक कल बनाइएको हुन्छ। कुहिनाले छुने, ब्रेक, हर्न, एक्सिलेटर, साइडलाइट आदिको सहाराले मिटरको गति बढाउन चालकले अनुकूल स्थानमा छुस (अर्थिङ) जडान गर्छन्। गुडेको किलोमिटरअनुसार रकम बढाउन मिटरभित्रका दाँती बिगारेरसमेत उपभोक्ता ठग्ने गरेका छन्। कार्यक्रममा यो आर्थिक वर्षको वैशाखसम्ममा एक सय २८ जनाको सडक दुर्घटनाबाट मृत्यु भएको जानकारी गराइयो। साथै भविष्यमा सुरक्षित मोटरसाइकल सवारीसम्बन्धी जनचेतना, ध्वनि प्रदूषण नियन्त्रण, सवारीसाधनका कालो सिसा हटाउने, यात्रु चढाउने र ओराल्ने स्थान निर्धारण तथा कार्यान्वयन जस्ता अभियान चलाउने महाशाखाले जनाएको छ।