आज एसएलसीको नतिजा आउने
काठमाडौ, २ असार । परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको नतिजा आज सार्वजनिक गर्ने भएको छ । सबै तयारी पुरा भइसकेको र आज बिहान बोर्ड बैठक बसेर दिउँसो सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा आज ४ बजे भित्र सार्वजनिक गर्ने तयारी गरेको बताए । गतवर्ष भन्दा ढिला परीक्षा भएपनि कार्यालयले चाँडै नतिजा सार्वजनिक गरेको हो । नतिजा बिगतको जस्तो श्रेणी छुट्याउने आउने छैन । एसएलसी परीक्षामा ६ लाख १ सय २० विद्यार्थी सहभागी थिए । परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ । ३० भन्दा कम अंक ल्याउने विद्यार्थीले ११ कक्षा पढ्न भने पाउने छैन । विद्यार्थीले मोवाइलबाट एसएमएस गर्दा र वेबसाइटमा आफ्नो सिम्बल नम्बर हाल्दा ग्रेड प्वाइन्ट एभरेज (स्तरीकृत अंक) थाहा पाउने छन् ।
ग्रेड प्वाइन्ट भन्नाले अक्षरमा गरिएको विद्यार्थीको मूल्याङ्नको स्तरीकरणलाई अङ्कमा प्रस्तुत गरिएको आनुसाङख्यक मानलाई जनाउँछ । त्यस्तै दुई वटा बिषयमा ‘डी’ र ‘ई’ छ भने बिषय खुलाएर सन्देश पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । यो व्यवस्था वेभसाइटमार्फत नतिजा हेर्दा पनि थाहा पाइन्छ ।
नतिजा थाहा पाउन नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बल नम्बर पठाएपछि आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) थाहा पाउन सकिन्छ । एसएमएसका लागि अन्य निजी कम्पनिको नम्बर पनि छन् । त्यस्तै शिक्षा मन्त्रालयको एमओई डट जिओभी डट एनपी, शिक्षा विभागको डीओई डट जिओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालयको एसओसीई डट जिओभी डट एनपी, नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनइटीबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।