मायोज कम्पनीका मजदुरहरु आन्दोलित
काठमाडौ, २ असार । हिमालयन स्न्याक्स एण्ड नूडल्स कम्पनीका मजदुरहरुले आफुहरुमाथि अन्याय भएको भन्दै आन्दोलित बनेका छन् । काभ्रेको उग्रतारा गाविस वडा नम्बर १ पुलबजारमा रहेको कम्पनीमा कार्यरत कर्मचारीहरुको हकहितका लागि गठन गरिएको विभिन्न संघसंगठनहरुको संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज बिहान विज्ञाप्ति निकालेर आन्दोलनको घोषणा गरेका हुन् । स्थायी हुनलाई श्रम ऐनमा २४० दिन कार्य गरेको हुनुपर्ने व्यवस्था भए पनि कारखाना व्यवस्थापकले १० वर्षदेखि काम गर्ने श्रमिकहरु अहिले पनि प्रतिगोटाको दरमा काम गर्न वाध्य पारिएको, दिनमा सम्पूर्ण उत्पादन बन्द गरेर दुधे बच्चाका आमादेखि ५० वर्ष कटेका मजदुरलाई समेत रातिको समय तोकी काम गर्न बाध्य बनाइएकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।
मजदुर संघसंठनले २०६७ साल आषाढ २७ गते कारखानमा भएको आगलागी घटनासमेत छानविनको माग गरेका छन् । कारखानाले काम गरेको ३ महिना बित्दासमेत तलब भत्ता नदिएको मदजुरहरुले बताएका छन् ।
वार्षिक वनभोज कार्यक्रमका नाममा आउने रकम पनि विगत २ वर्षदेखि व्यवस्थापक आफैले खर्च गर्ने गरेको भन्दै उनीहरुको तत्काल यस्तो कार्य बन्द गर्न माग गरेका छन् ।