प्रधानसेनापति लेबनान जाँदै
काठमाडौँ, ६ असार । विश्व शान्ति स्थापनार्थ लेबनानमा खटिएको नेपाली सेनाको युनिटको निरीक्षणका लागि प्रधानसेनापति राजेन्द्र क्षेत्री साताव्यापी भ्रमणका लागि आज लेबनान जाँदै छन । प्रधानसेनापतिका साथमा रक्षा सचिव महेशप्रसाद दाहाल पनि रहने बताइएको छ । अहिले लेबनानमा नेपाली सेनाका २० जना स्टाफ अधिकृतसहित ८ सय ६९ जना शान्ति सैनिक परिचालित छन् । नेपाली सेना हाल विश्वका १४ द्वन्द्वरत मुलुकमा रहेका १५ वटा मिसनमा विश्व शान्ति स्थापनार्थ खटिइरहेको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सर्वप्रथम १९५८ मा नेपाली सेना लेबनानमा शान्ति स्थापनाको निम्ति खटिइएको थियो । सुरुमा त्यहाँ पर्यवेक्षक स्टाफकारुपमा पाँचजना नेपाली सेनाका अधिकृत खटिएका थिए ।
लेबनानमा नेपाली सेनाले लामोसमयदेखि शान्ति स्थापना कार्यमा पु¥याउँदै आएको योगदानको विश्व समुदायबाट उच्च प्रशंसा हुँदै आएको छ । नेपाली सेनाले विश्वमै व्यावसायिक, अनुशासित र इमान्दार सैनिकका रुपमा ख्याति कमाएको छ । प्रधानसेनापति क्षेत्री साताव्यापी भ्रमण पूरा गरेर यही असार १२ गते स्वदेश फर्कने छन ।