तमलोपाको महाधिवेशन आजदेखि
काठमाडौँ, ६ असार । तराई मधेस लोकतान्त्रिक पार्टीकोे प्रथम महाधिवेशन नवलपरासीको सदरमुकामस्थित ऐतिहासिक रामग्राम नगरीमा आजदेखि सुरु हुँदैछ । महाधिवेशन असार ६ गते देखि ८ गतेसम्म परासीस्थित आदर्श उच्च माविमा हुँदैछ । महाधिवेशनको असार ६ गते उद्घाटन शत्र तथा ७ र ८ गते बन्द शत्र चल्नेछ । तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपालका शीर्ष नेताहरु र भारतको उत्तर प्रदेश, विहारसहित पाकिस्तान, युरोपेली युनियन, थाइल्यान्ड र बौद्धमागी देशका विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रमुखहरु लगायत आउने निश्चित भएको छ ।
अहिलेसम्म प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा परासी आउने जानकारी आएको तमलोपाका महामन्त्री गोविन्द चौधरीले बताए । यस्तै माओवादी केन्द, मधेसवादी दल्र लगायतका शीर्ष नेताहरु पनि आउने छन् भने संघीय समाजवादी फोरम नेपालका नेता अशोक राई, राप्रपाका पशुपति सम्मसेर राणा लगायत भारतको उत्तर प्रदेश विधान सभाका अध्यक्ष, विहारका पुर्व मन्त्री, सांसदहरु लगायत आउने जानकारी आएको चौधरीले बताए ।
भारतीय जनता पार्टीका उपाध्यक्ष भगत सिंह कुशियारी पनि आउने बताइएको छ । यसैगरी तमलोपाकोे महाधिवेशनमा तराईका २२ जिल्ला, काठमाडौ, भक्तपुर, ललितपुर र जुम्लाका समेत गरी २६ जिल्लाबाट एक हजार ३४ प्रतिनिधि, २ सय पर्यवेक्षक सहभागी हुँदैछन । महाधिवेशनले ७१ सदस्यीय केन्द्रीय समिति चयन गर्ने महामन्त्री गोविन्द चौधरीले बताए ।