६५ औँ मदन भण्डारी जन्मजयन्ती मनाइदै

२०७३ असार १४ गते, मंगलवार

काठमाडौ, १४ असार । आज नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा जननेता मदन भण्डारीको ६५ औँ जन्मजयन्ती मनाउने तयारी गरिएको छ । सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताको सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।
हरेक वर्ष जन्मजयन्तीको अवसर पारेर दिइने पुरस्कार पनि आज वितरण गरिने मदन भण्डारी फाउन्डेसनले जनाएको छ । आज एकलाख रुपियाँ राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण गरिने संस्थाका सचिव भेषराज अधिकारीले बताए ।
जन्मजयन्तीको अवसरमा विद्यालयस्तरीय वक्तृत्वकला, रक्तदान र खेलकुद कार्यक्रमको आयोजना भइरहेको सचिव अधिकारीले बताए । फाउन्डेसनले मदन भण्डारीको स्मरणमा लेखिएको र विभिन्न रचना समेटिएको ‘श्रद्धाञ्जलि’ नामक पुस्तक सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]