नेपाल–जापान राजनीतिक परामर्श बैठक काठमाडौंमा हुने

२०७३ असार १४ गते, मंगलवार

काठमाडौं, १४ असार । नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक बुधबार (भोलि) काठमाडौंमा हुने भएको छ । बैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुबै मुलुकका अधिकारीले विचार आदान–प्रदान गर्नुका साथै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवकाबारेमा पनि छलफल हुनेछ ।
बैठकमा नेपालको विकास प्रयासमा उपलब्ध जापानी सहयोग, भूकम्पपछिको पुनःनिर्माणमा जापानी मद्दत एवं क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयका सहसचिव एवं उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्रप्रसाद अर्यालले राससलाई बताए ।
बैठकमा जापानी पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी, दक्षिणपश्चिमी मामिला विभागका महानिर्देशक काजुया नासिदाले गर्नेछन् भने नेपाली प्रतिनिधिमन्डलको नेतृत्व सहसचिव अर्यालले गर्नेछन् ।
बैठकमा भाग लिने तीन सदस्यीय जापानी प्रतिनिधिमन्डल मंगलबार बिहान राजधानी आइसकेको जानकारी दिँदै उनले त्यसमा नेपालका लागि जापानका राजदूत मासासी ओगावासहित काठमाडौंस्थित जापानी राजदूतावासका उच्च अधिकारीहरु ९ जना सहभागी हुने बताए ।
त्यसैगरी, बैठकमा नेपालका तर्फबाट परराष्ट्र, शिक्षा, स्वास्थ्य, अर्थ, गृह, कानुन, भौतिक पूर्वाधार, ऊर्जा, उद्योग, वाणिज्य, पर्यटन, वन, राष्ट्रिय योजना आयोग र नेपाल पुनःनिर्माण प्राधिकरणका वरिष्ठ अधिकारीहरु १५ जना सहभागी हुने जानकारी पनि सहसचिव अर्यालले दिए ।

प्रतिक्रियाहरु

[anycomment]