खोला तर्न २५ रुपैयाँ शुल्क, सांसदसँग पनि असुलियो
काठमाडौं, १६ असार । पुल नहुँदा वर्षाको समयमा रुकुमको घेत्माखोला तर्न निकै सकस छ । सामान्य मान्छे आफ्नै बलबुताले खोला तर्न सक्दैनन् । खोला तर्न बनाइएको काठेपुल बुधबार आएको बाढीले बगाएपछि झनै समस्या थपिएको छ । अहिले केही स्थानीय बासिन्दाले खोलामा काठ राखेर डोरीको सहायताले खोला तर्न सहयोग गरिरहेका छन् । रुकुम, जाजरकोट र डोल्पाका मानिस आवतजावत गर्ने प्रमुख बाटोमा पर्ने घेत्माखोलामा पक्की पुल नहुँदा बर्सेनि यस्तै हैरानी हुन्छ । जिल्लामा भएका विकास निर्माणको अनुगमन गर्न गाउँ आएकी जाजरकोटकी सांसद रीता रावललाई पनि घेत्माखोला तर्न उस्तै सकस भयो । स्थानीय बासिन्दाको सहयोगमा खोला तरेपछि सांसद रावलले २५ रुपैयाँ दिइन् । उनीसँग मात्रै होइन खोला तारेर सहयोग गरेबापत सबैले २५ रुपैयाँ दिनुपर्ने खोला तार्दै आएका स्थानीयवासी सेतु खत्रीको भनाइ छ ।
जाजरकोट–डोल्पा सडकको राडी छेपारे सडकखण्डमा पर्ने रुकुमको घेत्माखोला तारिदिएबापत सांसद रावलले २५ रुपैयाँ तिरेकी हुन् । ‘सहयोग बिना खोला तर्न गाह्रो छ,’ खोला तरेपछि एक यात्रु सुनिता बोहराले भनिन् । खोलाबाट वारपार गर्न समस्या भएपछि प्रतिव्यक्ति २५ रुपैयाँ लिएर काठ र डोरीको सहायताले यात्रुलाई तार्ने गरेको खत्रीले बताए । खोलामा पुल बनाउनका लागि धेरै पटक हारगुहार गरे पनि बजेट नपरेको उनले गुनासो गरे । उनले यात्रुलाई सहयोग गर्न भनेर जोखिम मोलेरै भए पनि खोला तार्ने गरेको बताए । खोला बढेपछि यातायातका साधनसमेत तर्न सक्दैनन् ।
यात्रुले रकम तिरेर खोला तर्न बाध्य भएको र यातायातका साधन तर्ने गरी पक्की पुलको व्यवस्थाका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने सांसद रावलले बताइन् । घेत्मा खोलाको यो क्षेत्र रुकुम क्षेत्र नं २ का सांसद एवम् पूर्वमन्त्री जनार्दन शर्माको क्षेत्र हो ।- रासस