राप ३ लाई जनकारवाही गर्न आग्रह

काठमाडौं,१७ असार । अछाम कमलबजार नगरपालिकाका स्थानीयले नेकपा माओवादीलाई सवारी आवगमन अवरुद्ध पार्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था राप ३ (RAP3) माथि जनकारवाही गर्न आग्रह गर्ने निर्णय गरेका छन् । कमलबजारका दर्जनौं स्थानीयको उपस्थितिबाट गतबुधबार गरिएको सो निर्णयले कामै नगरी रकम भ्रष्टचार गरेको भन्दै सडक निर्माणको जिम्मा पाएको र्याप ३ र सडक निर्माणको ठेकेदारमाथि जनकारवाही गरिदिनु अनुरोध गर्ने निर्णय गरिएको हो ।
कमलबजार मुख्य सडकमा ग्राभेल र नाला बनाउने ठेकेदारी दिएका र्याप ३ र ठेकेदारले सडकमा बिछ्याइएका ढुंगा झिकेर नालामा हालेर चालू सडक बन्द गराएको र तोकिएको काम पूरा नगरी रकम भ्रष्टचार गरेको बैठकको निर्णयमा उल्लेख छ ।
बैठकले बाटो अवरुद्ध, संचालन र बारवाही विषय गरी तीन प्रस्तावमाथि निर्णय लिइएको छ । प्रस्ताव नं २ माथि बैठकले अवरुद्ध सडक संचालनका लागि सहयोग गर्न विप्लव माओवादीलाई अनुरोध गर्ने निर्णय गरिएको उल्लेख । ‘कमलबजार न.पा.को मेन रोड अवरुद्ध भएकोले सडक संचालनका लागि सहयोग गरिदिनु हुन नेकपा माओवादी (विप्लव)लाई अनुरोध गर्ने निर्णय गरियो’ प्रस्ताव नं २ माथिको निर्णयमा लेखिएको छ ।
त्यस्तै प्रस्ताव नं. ३ माथिको निर्णयले मेन रोडको पाँच सय मिटर सडक ग्राभेल गर्ने र नाला बनाउने भनी छुट्याइएको बजेट रकम कामै नगरी भ्रष्टाचार गर्ने संस्था र ठेकेदारलाई कमलबजार भित्र सबैका सामू जनकारवाही गरिदिन भन्दै माग गरिएको छ ।
र्याप ३ ले यस भेगका ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दै आइरहेको छ । सोही मौका पारेर उसले आफ्नो गतिविधि तीव्र बनाउँदै लगिरहेको र काम गरेबापत नगदको साटो चामल वितरण गर्दै आइरहेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा मालेलगायतका दलहरुको बैठकबाट सर्वदलीय निर्णय लिइएको हो ।