दिल्ली पब्लिक स्कूलमाथि क्रान्तिकारीको आक्रमण

२०७३ असार २० गते, सोमबार

काठमाडौ, २० असार । नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले कानून उल्लंघन तथा भारतीय पाठ्यपुस्तक अध्यापन गराई राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै विराटनगरस्थित दिल्ली पब्लिक स्कूलमाथि आक्रमण गरेको छ । आक्रमणबाट स्कूलमा क्षति पुगेको र स्कूलका केही संख्यामा सवारी साधन समेत जलेर नष्ट भएको विद्यालयले जनाएको छ । आक्रमणको जिम्मेवारी अखिल क्रान्तिकारीले लिएको छ ।
दिल्ली पब्लिक स्कूलले यहाँ अध्यायनरत नेपाली विद्यार्थीहरुलाई विद्यालय तहमा विदेशी पाठ्यक्रम पढाई राष्ट्रियतामाथि हस्तक्षेप गरेको र ऐन कानूनको पालना नगरेको भन्दै चेतावनीस्वरुप आक्रमण कारवाही गरिएको अखिल क्रान्तिकारीका कोशी क्षेत्रीय समन्वय समितिले जनाएको छ ।
त्यस्तै सुनसरीको धरानमा रहेको दिल्ली पब्लिक स्कुलमा नेपाली विद्यार्थीहरू पढ्ने गरिएको र यहाँ पढाइने पाठ्यक्रम सबै भारतीय भएको स्थानीयहरूले विरोध जारी राखेका छन् । स्थानीयको माग सम्बोधन गर्न र ऐन कानून पालना गर्न क्रान्तिकारीले पटकपटक विद्यालयसँग आग्रह गर्दै आइरहेको तर बेवास्ता गरी गैरकानूनी गतिविधि जारी राखेकोबुझिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]