आपूर्ति मन्त्रीमाथि आक्रमण

काठमाडौं, २१ असार । आपूर्ति मन्त्री गणेशमान पुन तरकारी व्यापारीको आक्रमणमा परेका छन । बल्खुको तरकारी बजार अनुगमन गर्न मन्त्री पुन सरकारी टोलीसहित तरकारी बजारमा पुगेका बेला तरकारी व्यापारीको एक हुलले मुला, लौका, बन्दकोपी प्रहार गरि आक्रमण गरेका हुन् ।
कालीमाटीको तरकारी बजारको अनुगमन सकेपछि बयोधा अस्पतालपछाडि रहेको तरकारी बजार पुगेका मन्त्री पुनसहितको टोलीले वस्तुको गुणस्तर हेर्ने, ढकतराजुको अवस्था पत्ता लगाउने लगायत अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
मन्त्री पुनसहितको टोली एक्कासि तरकारी बजारभित्र छिरेको देख्नेबित्तिकै व्यापारीहरुले एक्कासि अनुगमन गर्न नपाउने भन्दै टोलीलाई जबर्जस्त रोक्न खोजेका थिए । सोही क्रममा अनुगमन सूचना दिएर हुँदैन भन्दै टोलीले पसलमा प्रयोग गरिएका ढक, तराजु दर्ता भए नभएको र चुस्त रहे नरहेको चेकजाँच गर्न शुरु गरेपछि केही मुन्द्रे र लठैतजस्तो देखिने समूहले बन्दकोपीले प्रहार शुरु गरेका थिए ।
टोलीसँगै सुरक्षार्थ प्रहरी असईको नेतृत्वमा सुरक्षा टोलीसमेत थियो । त्यहीबीचबाट मन्त्री पुनलाई ताकेर हुलले मुला, लौका, बन्दकोपी, फर्सीलगायत जे पायो त्यहीले हान्न शुरु गरे । केही इट्टा समेत प्रहार गरे ।
यहाँका तरकारी बजारस्थल अत्यधिक दुगन्र्धित रहेको , पसलेले तौलमा कमी दिएको, गुणस्तरहीन र बढी विष प्रयोग भएको तरकारी बिक्री गरिरहेकोलगायत उपभोक्ताबाट गुनासा व्यापक मात्रामा बढेपछि मन्त्री पुन स्वयम् मंगलबार अनुगमनमा निस्केका थिए । अनुगमन टोलीका साथमा पत्रकार र क्यामेरा पर्सन समेत रहेका थिए । केही व्यापारीले समाचार नलेख्न र फोटो नखिच्न समेत धम्की दिएका थिए । व्यापारीहरुले भने आफूहरुलाई ढक तराजु दर्ता गर्नुपर्ने विषय थाहै नभएको तर्क गरेका छन् । अहिले अनुगमन स्थगित गरेर टोली र व्यापारीसमूहबीच छलफल भइरहेको छ ।