मेसीलाई २१ महिना कैद !
काठमाडौँ, २२ असार । अर्जेन्टिना र बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई स्पेनमा कर छलेको आरोपमा २१ महिना कैद सजाय सुनाइएको छ। लियोनल मेसी र उनका वित्तीय विभाग हेर्ने उनकै पितामाथि सन् २००७ र २००९ का बीच स्पेनमा ४५ लाख डलर कर छलेको आरोप छ।
अधिकारीहरुका अनुसार दुवैले इमेज राइटबाट हुने आम्दानी लुकाउनका लागि बेलिज र उरुग्वेजस्ता देशको साहरा लिएको आरोप छ। अदालतले मेसीलाई १४.९ करोड र उनका पितालाई ११.३ करोड जरिवानासमेत गरेको छ।
मेसीको इमेज राइटसबाट हुने कमाई जुन कम्पनीबाट भइरहेको थियो, त्यसमा बाँको, सैबडेल, डैनान, एडिडास, पेप्सीकोला, प्राक्टर एण्ड गैंबल र कुवेत फुड कम्पनी संलग्न छन् ।
उनका वकिलले मेसीले अहिलेसम्म आफ्नो अनुबन्ध नपढेको र त्यसमा ध्यान नदिएको दावी गरेका छन् । अभियोजन पक्षले दुवै जनालाई २२ महिना जेल सजायको माग गरेको थियो । स्पेनको कानुन अनुसार दुई वर्षभन्दा कम जेल सजाय प्रोबेशनअन्तर्गत आउनेछ । त्यसैले मेसी र उनका पितालाई जेलमा भने राखिने छैन । साथै मेसी र उनका पितासँग उच्च अदालतमा पुनरावेदन गर्ने अवसर पनि हुनेछ । त्यसैले उनीहरु तत्काल जेल भने जाने छैनन् । – एजेन्सी