मेसीले जेल बस्नु नपर्ने !
काठमाडौं, २३ असार । अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेसीलाई कर छलेको आरोपमा स्पेनको एक अदालतले २१ महिनाको जेल सजाय सुनाएको छ । स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेसीलाई त्यहाँ गरेको कमाइको कर छलेको भन्दै बार्सिलोनाको अदालतले उनका बाबु जर्ज मेसीलाईसमेतलाई पनि बुधबार जेल सजाय सुनाएको हो ।
यसअघि, गत जुन २ तारिखमा पनि मेसी र उनका बाबुले अदालतमा जानुपरेको थियो । अदालतले बार्सिलोनाबाट खेल्दा सन् २००७ देखि २००९ को बीचमा कमाएको ४ दशमलव ६ मिलियन डलरको कर नतिरेको भन्दै बाबु–छोरालाई जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । उनले कर लुकाउन बेलिज र उरुग्वेकोसमेत सहारा लिएको अदालतको निष्कर्ष छ । मेसीले भने आफूलाई आर्थिक मामिलाबारे केही थाहा नहुने बताएका छन् । मेसीका बाबु र उनका वकिलले आर्थिक मामिला हेर्दै आएका छन् ।
मेसी पाँचपटकका फिफा ‘बेलोन डे’ओर’ विजेता हुन् । यो सजायसँगै उनको फुटबल करियरसमेत धरापमा परेको छ । तर, स्पेनी कानुनअनुसार कुनै हिंश्रक नभएको अपराधमा दुई वर्षभन्दा कमको सजायमा जेल भने बस्नु पर्दैन । मेसी बाबु–छोराले प्रशासनको निगरानीमा सजाय भुक्तान गरे पुग्नेछ । बार्सिलोना अदालतको यो फैसला चित्त नबुझे मेसीले त्यहाँको सर्वोच्च अदालतमार्फत् अपिल भने गर्न सक्नेछन् । – एजेन्सी