सती घाटु जोगाउँदै गाउँले

२०७३ असार २९ गते, बुधबार

काठमाडौ, २९ असार । समाजबाट विस्तारै हराउँदै गएको सती घाटुलाई पाण्डवखानीका मगर समुदायले संरक्षण गरेका छन् । पुखौँं अघिदेखि प्रचलनमा रहेको सती घाटु गाउँलेको प्रयासमा जोगिएको छ ।
ऐतिहासिकता र संस्कृति बोकेको सती घाटुले सिङ्गो जिल्लाको पहिचान बोकेको छ । सती घाटुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको मगर अगुवा बताउछन् ।
सती घाटुका गुरु गिरिप्रसाद थापाले सती घाटु पूर्वजहरुले छोडेर गएको लोपोन्मुख नाच रहेको बताउनुभयो । उहाँले यसको संरक्षण र प्रवद्र्धनमा युवा पुस्ताको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
‘पूर्खा, बाउ–बाजेहुँदै हामीसम्म आइपुगेको छ, यसलाई नयाँ पुस्तामाझ चलनमा ल्याउनुपर्छ’ थापाले भन्नुभयो ‘सती घाटु इतिहास बोकेको संस्कृति हो, यसको संरक्षण आवश्यक छ ।’
बढ्दो आधुनिकता र विकृत संस्कृतिबाट सती घाटुलाई अलग राख्नुपर्ने उहाँको धारणा छ । बागलुङमा सबैभन्दा प्रचलित र लोकप्रिय सती घाटु पाण्डवखानीकै मानिन्छ । वर्षको दुईपटक सती घाटु प्रदर्शन गर्ने गरिएको छ ।
तत्कालीन पर्वते राजा परशुराम र रानीको जीवन कथामा आधारित सती घाटु गीतिनाटकको शैलीमा प्रस्तुत गर्ने गरिन्छ ।
‘युद्धमा राजाको वीरगतिपछि रानीहरुको बिलौना गीत र नृत्यमार्फत् अभिव्यक्त हुने गरेको छ’ थापाले भन्नुभयो ‘रानी मुर्छित हुन्छन्, पछि सती जान्छन्, यो कथालाई गीतिलयमा ढालिन्छ, सँगैरानीको प्रतिकको रुपमा घाटुनीहरु नृत्य गर्ने गर्छन् ।’ घाटुनीको रुपमा पाँचजना युवती घन्टौंसम्म नृत्य गर्ने गरेका छन् ।
गीतकै सुरमा ती घाटुनीहरुको आँखा बन्द हुने, ढल्ने र पुनः गीतबाटै उनीहरुलाई उठाउने गरिन्छ । महिला र पुरुष कलाकारले समूहमा बसेर कारुणिक गीतहरु गाउने गर्छन् । बिहानदेखि सुरु भएको सती घाटु मध्यरातपछि मात्र पूरा हुने गरेको छ । त्यतिञ्जेलसम्म घाटुनीहरु गीतको सुरमा लठ्ठिएर नाचिरहेका हुन्छन् ।
नृत्यकै क्रममा आँखा पूरै रुपमा बन्द हुनुमा कुनै ‘अलौकिक शक्ति’ रहेको मगर अगुवाको विश्वास गर्छन् । सती घाटुमा कथा अनुसार अइरा खण्ड, सती खण्डलगायत विभिन्न खण्डहरु हुने गरेको घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष गिरप्रसाद घर्तीले बताउनुभयो ।
अइरा खण्डमा धान रोपाइँ, ढ््याङ्ग्रे नाच देखाउने गरिएको उहाँको भनाइ छ । ‘सती खण्डमा घाटुनीहरु मुर्छित भएर ढल्छन्, जुन क्षण एकदम कारुणिक हुने गरेको छ’ अध्यक्ष घर्तीले भन्नुभयो ।
उहाँका अनुसार भगवान शिवजीले जोगीको भेषमा राजासँग निहँु खोजेपछि रानीहरु मुर्छित भएर ढलेको कथा सती घाटुमा छ । घाटुनीहरु गीतबाटै ढल्ने र गीतबाटै उठ्ने हुँदा सती घाटुमा अदृश्य शक्ति रहेको हुनसक्ने अध्यक्ष घर्तीले बताउनुभयो ।
मुख्यगरी वैशाखपूर्णिका अवसरमा सती घाटु नचाउने गरिन्छ । पूर्णिमामा देखाइको नाचलाई दुई सातापछि मात्र बन्द गर्ने चलन छ । त्यसपछि पुनः हिउँदको समयमा प्रदर्शन गर्ने गरिएको छ । मञ्चकै अगुवाइमा घाटु संरक्षण र प्रवद्र्धनको काम भइरहेको छ ।
पाण्डवखानीसँगै छिमेकी सिसाखानी, रिघा लगायतका गाविसमा पनि सती घाटु नचाउने गरिन्छ । पाण्डवखानीको घाटु नाचको कुनै लिखित इतिहास नभए पनि तत्कालीन गलकोटे राजा भरतबम मल्ल खानी खन्ने क्रममा त्यहाँ जाँदा घाटु नाच पनिसँग लिएर गएको विश्वास गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु