त्यसै सत्ता छाड्दिन : प्रधानमन्त्री ओली
काठमाडौं, ३० असार । एमाले संसदीय दलको बैठकले अविश्वास प्रस्तावको दृढतापूर्वक सामाना गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र अविश्वास प्रस्तावको दृढतापूर्वक सामना गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको भन्दै पदबाट राजीनामा नदिने स्पस्ट पारेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले विदेशी शक्तिको इसारामा सरकार ढाल्न खोजिएको भन्दै आफूहरुले पनि त्यसै सत्ता नछाड्ने बताए ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु पनि सत्ताको खेलामा अब खुलारुपमा लाग्ने भन्दै अविश्वास प्रस्ताव सहजै ‘पास’ होला भनेर नसोच्न विपक्षी दललाई चेतावनी दिँदै आफ्ना सांसदहरुलाई दृढतापूर्वक सरकारको पक्षमा उभिन निर्देशन दिएको एमाले मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए । बजेट पारित नभए, आफूले उपयुक्त कदम चाल्ने भन्दै प्रधानमन्त्री ओलीले आवश्यक परे संसद अधिवेशन अन्त्य गरिने संकेतसमेत गरे । अविश्वासको प्रस्ताव पासै भइहाले पनि सरकार बन्ने अवस्था नरहेको उनको जिकिर थियो ।
उनले अविश्वास प्रस्ताव पास भएपनि सरकार बन्ने संवैधानिक व्यवस्था नभएको भन्दै सांसदहरुलाई नआत्तिन आग्रह गरेका थिए । संसदीय दलको बैठकमा करिब साढे एक घन्टा बोलेका प्रधानमन्त्री ओलीले आधाभन्दा बढी समय भारत र नेकपा माओवादी केन्द्रलाई गाली गर्नमै खर्च गरेका थिए । उनले माओवादीले सम्हालेका गृह र आपूर्ति मन्त्रालयका कारण सरकार आलोचित बन्नुपरेको भन्दै अब राम्रो काम गर्ने बताए ।