दलहरू आ-आफ्नै अडानमा , संसद्को कार्यसूची अनिश्चित

२०७३ श्रावण ६ गते, बिहीबार

काठमाडौँ, ६ साउन । संसद्को कार्यसूची कसरी अगाडि बढाउने भन्नेमा दलहरू आ-आफ्नै अडानमा छन् । जसका कारण सरकारविरुद्ध संसद् सचिवालयमा अविश्वास प्रस्तावको सूचना दर्ता भएपछि बढेको राजनीतिक ध्रुवीकरण अन्त्य गर्न दलहरू असफल भएका छन् । दलीय ध्रुवीकरण अन्त्यका लागि सभामुख ओनसरी घर्तीले मङ्गलबारबाट राजनीतिक परामर्श तीव्र पार्नुभए पनि परिणामुखी बन्न सकेन । संसद्को कार्यसूचीबारे अहिले बिहान शीर्ष नेतासँग परामर्श गरेर अन्तिम निष्कर्षमा पुग्ने धारणा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले राखेको बताइएको छ । हिजो दिनभरको राजनीतिक परामर्शपछि साँझ सभामुख घर्तीले कार्यव्यवस्थाको बैठक बोलाएकि थिइन् । कार्यव्यवस्थामा पनि दलीय धारणाअनुसार नै सुझाव आएपछि बिहीबार बिहान शीर्ष नेतासँग परामर्श गरी निष्कर्षमा पुग्ने जानकारी बैठकमा उनले दिएको संसद्् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए ।
असार ३१ गतेको बैठकले बिहीबार संसद् सचिवालयका दर्ता भएको अविश्वासको सूचना सदनमा पेस गर्ने निर्णय भइसकेको छ । त्यहीअनुसार सांसद्लाई परिपत्रसमेत भइसकेको छ । बजेटका आश्रित विधेयक हटाएर उक्त कार्यसूची तोकेकोमा सत्तारुढ दल भने रुष्ट छन् । आश्रित विधेयकपछि अविश्वासको प्रस्ताव कार्यसूचीमा आउनुपर्ने अडान उनीहरूको छ । अडान विपरीत कार्यसूची आए सदन चल्न नदिने उनीहरूको तयारी छ ।

प्रतिक्रियाहरु

[anycomment]