सरकारकै कारण उर्जा संकट लम्बिदैं

२०७३ श्रावण ७ गते, शुक्रबार

काठमाडौं,७ साउन । भारतबाट बिजुली किनेर उर्जा संकट घटाउने सरकारकै योजनामा असर पर्ने गरी अर्थमन्त्रालयले उल्टो निर्णय गरेको छ । किनेको बिजुलीमा हुने घाटा रकम नेपाल विद्युत प्राधिकरणलाई शोधभर्ना नदिने निर्णय मन्त्रालयले गरेपछि समस्या देखिएको हो । सरकारले आगामी हिउँदमा भारतबाट ६ सय मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ तर अनावश्यक निर्णय गरेर संकट लम्ब्याउन सरकार नै जिम्मेवार देखिएको छ । खरिद प्रक्रियामै असर पर्ने गरी शोधभर्ना नदिने निर्णयले आगामी हिउँदको लोडसेडिङ भयावह हुने प्राधिकरण अधिकारीको अनुमान छ ।
सरकारले भने आगामी हिउँदको लोडसेडिङ नगन्य हुने दाबी गर्दै आएको छ । अर्थमन्त्रालयले अन्तिमपटक भन्दै प्राधिकरणले २०७२ पुस १६ सम्म भारतबाट किनेको बिजुलीमा भएको घाटा ३ अर्ब ९६ करोड रुपैयाँ दिने निर्णय गरेको थियो । आगामी दिनमा भारतबाट किन्दा जति नोक्सान हुन्छ, त्यो प्राधिकरणले नै व्यवस्थापन गर्नुपर्ने मन्त्रालयको सुझाव छ । मन्त्रालयले यस्तो निर्णय गरेपछि हिउँदमा बिजुली किन्न नसकिने प्राधिकरणका उच्च अधिकारी बताउँछन् । फागुनमा उर्जा संकट निवारणको घोषणा गरेको सरकारले ५ महिना भइसक्दा पनि यस अवधिमा गर्नुपर्ने कुनै पनि काम पुरा गरेको छैन ।
अर्थ मन्त्रालयको निर्णयले हिउँदको संकट टार्न अहिलेदेखि नै बिजुली जोहो गर्न लागेको प्राधिकरणको खरिद निर्णय नै प्रभावित हुने देखिएको छ । –नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु