वीर अस्पताल दुवाकोटमा सर्ने

२०७३ श्रावण ७ गते, शुक्रबार

काठमाडौं, ७ साउन । आजको मन्त्रिपरिषद् बैठकले देशकै पुरानो वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको छ। बैठकले दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएपछि वीर अस्पताल सर्ने पक्का भएको हो । काठमाडौंको महाबौद्धमा रहेको वीर अस्पताल साँघुरो र नयाँ संरचना निर्माण गर्ने समेत स्थान नभएको भन्दै मन्त्रिपरिषद्ले अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको हो । बैठकले वीर अस्पताललाई दुवाकोटमा एक हजार शैयाको बनाउने निर्णय समेत गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए ।
सरकारको नीति कार्यक्रम र बजेट तथा संसद्बाट पारित विनियोजन विधेयकमा उल्लेख भएअनुसार अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय, आधुनिक र विश्वसनीय वीर अस्पताल निर्माण गर्न भक्तपुरको दुवाकोटमा करिब ७०० रोपनी जग्गा उपलब्ध गराउने निर्णय बैठकले गरेको हो ।
यसैगरी आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय आमसञ्चार नीति, २०७३ स्वीकृत गरेको छ । सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही साउन ५ गते आफ्नो प्रतिवेदन बुझाएको थियो ।
मन्त्रिपरिषद्को २०७२ माघ १० मा गठित समितिले दिएको सुझावका आधारमा सो नीति स्वीकृत गरेको हो । समितिका अध्यक्ष काशीराज दाहालले हस्तान्तरण गरेको प्रतिवेदनमा सञ्चारमाध्यममा हुने लगानीको पारदर्शीता, श्रमजीवी पत्रकारको हक अधिकार, मिडियाको पुनःसंरचनालगायत विषय छन् । प्रतिवेदनले आमसञ्चारसम्बन्धी नियामक निकायको सम्बन्धमा राष्ट्रिय आमसञ्चार प्राधिकरण, सार्वजनिक सेवा प्रसारक नेपाल, विज्ञापन परिषद्को स्थापनाका साथै प्रेस काउन्सिलको भूमिका र संरचनामा सुधार गर्न सुझाएको थियो ।
यसैगरी बैठकले मुस्ताङको लोमान्थाङस्थित युरोनियम रहेको स्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । यसैगरी, चीनको चोङ क्युङ सहरका लागि अवैतनिक नेपाली वाणिज्य दूतमा चिनियाँ नागरिक कोङ म्यान तिनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शेरधन राईले बताए ।

प्रतिक्रियाहरु

[anycomment]