संसदीय दलहरुको निर्लज्जता – राजेन्द्र चिमौरिया
देश र जनता प्राकृतिक विपत्तिबाट आहात भइरहेका छन् । बाढी पहिरो र भूकम्पबाट पीडित जनता जीवनमरणको दोसाँधमा छन् । भित्र्याउन ठिक्क हुन लागेका सुकुमबासीले लगाएका अन्नबाली सरकारले नै डोजर लगाएर ध्वस्त बनाएको छ । सरकार जनताप्रति चरम दमन र अन्याय गरिरहेको छ । संसदमा भएका दलहरु सरकारको ज्यादतिविरुद्ध उत्रनुको सट्टा देशको राजनीतिलाई अस्थिरतातिर धकेल्ने प्रपञ्चमा लागेका छन् । वर्तमान संसद्मा संलग्न सबै दलहरुको चर्तिकला हेर्दा यिनीहरु देश र जनताभन्दा आफ्नो पार्टी र व्यक्तिगत स्वार्थमा केन्द्रित भएको ठोकुवा गर्न सकिन्छ । यिनीहरुलाई जनताको जनजीविकाप्रति कुनै वास्ता छैन । खाली कसरी सरकारमा पुग्ने ? देश र जनतालाई लुट्ने भन्नेमै यिनीहरुको ध्यान केन्द्रित रहेको देखिन्छ । सायद यी भ्रष्ट र स्वार्थी दल र तिनका नेतालाई चिनेर नै होला नेकपा माओवादीलगायतका केही दलले वर्तमान संसद् र संविधान बहिष्कार गरेका छन् । यी संसद्वादी दलहरुको हर्कत हेर्दा नेकपा माओवादीले वर्तमान संसद् र संविधानविरुद्ध चालेको कदम ठीक हो भन्ने पुष्टि हुँदै गएको छ । देश र जनता भड्खालोमा जाओस् आफुहरु सत्तामा रहिरहनुपर्छ भन्ने कथित संसद्वादीहरुको कलुषित भावना नै वर्तमान संकटको प्रमुख कारण हो । तसर्थ, यी जनघाती र राष्ट्रघाती संसदीय दलहरुको क्रियाकलापविरुद्ध जनता जाग्नुपर्ने समय भएको छ । यदि जनताले यिनीहरुलाई बेलैमा लगाम नलगाए देश र जनताको अस्तित्व नै संकटमा पर्ने निश्चित देखिन्छ । तसर्थ, वर्तमान अवस्थामा देशको संकटलाई पार लगाउँदै राष्ट्र र जनताको हितको रक्षार्थ नेकपा माओवादीले अगाडि सारेको एकीकृत जनक्रान्तिलाई सबैले साथ र सहयोग दिनु अत्यावश्यक भएको छ । जसबिना देश र जनताको मुक्ति सम्भव छैन, सबैलाई चेतना भया ।