अविश्वास प्रस्तावमाथि मतदान हुने

२०७३ श्रावण ९ गते, आईतवार

काठमाडौ, ९ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि आज मतदान हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव आजको दोस्रो बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । व्यवस्थापिका–संसदको आजकै पहिलो बैठकमा अविश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि दोस्रो बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध लगाइएका आक्षेपहरुको जवाफ दिने कार्यक्रम रहेको छ ।
संसदमा प्रधानमन्त्रीले बोलीसकेपछि अविश्वासको प्रस्तावमा मतदान हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव पेस गरेका थिए ।
शुक्रबार र हिजो दिनभर प्रस्तावको पक्ष विपक्षमा छलफल भएको थियो। आजको संसद बैठक बिहान ११ बजे बोलाइएको छ । कांग्रेस र माओवादी केन्द्रले २५३ सांसदको हस्ताक्षरसहित गत असार २९ गते संसद्मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]