ठेक्का विवादप्रति माओवादीको ध्यानाकर्षण

काठमाडौ, १६ साउन । जिल्ला विकास समिति नवलपरासीद्धारा निकासी पैठारी ठेक्का प्रक्रियामा देखिएको विवादले उग्र रुप लिईरहेको बेला नेकपा माओवादी नवलपरासीले अनियमितता, भ्रष्टचार एवं नागरिकमाथि गरिएको कुटपिट प्रति सम्बन्धित पक्षले तत्काल छानविन प्रक्रिया अगाडी बढाई सत्यतथ्य जनतामाझ ल्याउन माग गर्दै एक विज्ञप्ती जारी गरेको छ ।पार्टीका जिल्ला सेक्रेटरी जुझारुद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘आर्थिक वर्ष ०७३-०७४ को निकाशी पैठारी ठेक्का अन्तर्गत प्रत्यक बर्ष प्रतिशतको आधारमा बढबढाई गर्ने निकासी पैठारी ठेक्का गत बर्ष रु. ४ करोड २५ लाख रहेको र हाल आएर सो ठेक्का उल्टै घटेर जम्मा रु. १ करोड ३१ लाखमा पाल्पा स्थित अनुपम निर्माण सेवा नामक संस्थालाई अनियमित तरिकाले सम्झौता गरेको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ साथै उक्त कार्यको विरोध गरेको नागरिक समाजप्रति भएको कुटपिट र अमानवीय व्यवहारको समेत भत्र्सना गर्दै भनिएको छ, ‘यस्तो घटनाको विरोध गर्ने, छानविन गर्न माग गर्ने र प्रशासनमा हुने अनियमिततालाई खबरदारी गर्ने सचेत नागरिकको दायित्व पनि हो । यसै सन्दर्भमा नागरिक समाज नवलपरासीले यस्तो अनियमिताको छानविनको माग गर्दै ज्ञापन पत्र बुझाउने क्रममा केही अराजक समूहले गरेको अभद्र र अमानवीय व्यवहार निकै निन्दनीय छ, यस्तो कार्यको पार्टीले घोर भत्र्सना गर्दछ ।’
पार्टीले प्रशासनिक क्षेत्रमा भ्रष्टचार बढेको भन्दै यसप्रति सचेत रही खबरदारी गर्न आम जनतालाई समेत अपिल गरेको छ । विप्लव माओवादीले पछिल्लो समय भ्रष्टचारीहरुलाई कारबाही गर्ने लगायतका कामहरु समेत गर्दै आएको छ ।
स्मरण रहोस् जिल्लाबाट निकाशि पैठारी ठेक्का अनियमित र गोप्य तरिकाले सम्झौता गरेको अभियोग लागेका स्थानिय विकास अधिकारी लालकृष्ण शर्मा पौडेललाई झण्डै ३ करोड भ्रष्टचार गरेको आरोपसमेत आम जनताले लगाएका छन्, उनले भने आफूलाई लागेको आरोप तथ्यहिन भएको भन्दै खण्डनसमेत गरेका छैनन् । गोप्य स्रोतका अनुसार उनले सो रकम पूरै आफै खाएका छैनन यस्को जालो धेरै माथीदेखी छ, नाम नखोल्ने सर्तमा एक स्रोतले भन्यो प्रशासनमात्रै होईन केन्द्रदेखी गाउँस्तरसम्म केही राजनीतिक दलका नेताहरुसमेत यसमा संलग्न छन् । यस्को आरोप थेग्न पौडेललाई हम्मेहम्मे परेको छ भने परासी क्षेत्रमा जताततै व्यापक प्रहरी परिचालन गरिएको र पौडेलको सुरक्षामा थप प्रहरी खटाइएको छ । – शिव डुम्रे