प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित
काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज व्यवस्थापिका–संसदको बैठकमा भएको प्रधानमन्त्रीको निर्वाचनमा संसदमा तत्काल कायम रहेको सांसद संख्याको बहुमत प्राप्त गरी उनी मुलुकको ३९औं प्रधानमन्त्री चुनिएका हुन् । संसदमा उपस्थित ५७३ सांसदमध्ये दाहालको पक्षमा ३६३ र विपक्षमा २१० मत प्राप्त भएको सभामुख ओनसरी घर्तीले घोषणा गरिन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेपछि प्रचण्डले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन् । दाहाल दोस्रोपटक प्रधानमन्त्री बनेका हुन् । दुईपटक प्रधानमन्त्री हुने उनी नेपालको पहिलो कम्युनिष्ट नेतासमेत बन्न सफल भएका छन् । यसअघि, दाहाल वि.सं. २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।