‘कविताले परिवर्तनको भाषा बोल्नुपर्छ’

काठमाडौं, २३ साउन । आजको कविताले परिवर्तनको भाषा बोल्नुपर्छ भन्दै प्रगतिवाद भनेको माक्र्सवाद भएको कुरा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय कार्यालय सदस्य खेम थपलियाले बताएका छन् । उनले रचना राजनीतिको कमान्डमा हुनुपर्ने बताएका छन् । इटहरीमा शनिबार प्रगतिशील कवि श्यामभाइ गौतमको एकल कविता वाचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै थपलियाले प्रगतिवाद र प्रगतिशील फरक फरक कुरा भएको बताउँदै प्रगतिवाद भने माक्र्सवाद हो भने प्रगतिशील भनेको सन्दर्भ र सम्बन्धको अवस्था मात्र भएको बताएका छन् । उनले कवितामा विचार, दर्शन, उद्देश्य हुने बताउँदै यसले परिवर्तनको पक्षमा उभिने आँट गर्नु पर्ने पनि बताए । उनले श्यामभाइ गौतमका कविता परिवर्तनको आकांक्षाद्वारा प्रेरित कविता भएको बताएका छन् ।
गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिकाको आयोजनामा भएको उक्त एकल कविता वाचन कार्यक्रममा गौतमले ११ वटा कविता वाचन गरेका थिए । गौतम २००९ सालमा चैनपुरमा जन्मिएका कवि हुन् । उनले २०२३ सालदेखि जनजागरणका निम्ति कविता लेख्दै आएका छन् । कविताकै कारण उनले पटक पटक यातना र जेलनेल खाएका थिए । उनी अहिले कविताका माध्यमबाट नेपाली क्रान्तिलाई अघि बढाउन प्रयासरत छन् ।
कार्यक्रम इटहरी साहित्य सञ्चार समूहका अध्यक्ष मनु मञ्जिलले गौतमका कविता लामो सङ्घर्षबाट सिर्जना भएको बताएका थिए । सो अवसरमा अखिल नेपाल लेखक सङ्घका उपाध्यक्ष भानु भण्डारीले गौतमका कविताले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रगतिशील लेखक सङ्घकी केन्द्रीय सल्लाहकार कुन्ता शर्माले गौतमका कविताले क्रान्तिलाई टेवा पु¥याउने बताएकी छिन् ।
त्यसैगरी अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य खेमराज खनालले गौतमका कवितामा जनचेतनाको सम्भावना रहेको बताएका थिए । इटहरीका सामाजिक कार्यकर्ता रामचन्द्र अधिकारीले गौतमका कविताले समाज परिवर्तन गर्न भूमिका निर्वाह गर्ने बताएका थिए । पत्रिका सहसम्पादक जमुना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि उपसम्पादक केशवकुमार सुनामले प्रकाश पारेका थिए । कार्यक्रममा प्रवन्ध सम्पादक शकुन्तला त्रिखत्रीले धन्यवाद ज्ञापन गरेकी थिइन् । गोरखा डिपाटमेन्ट स्टोर, इटहरीको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । लिम्बुवान बन्द भएता पनि झापा मोरङ र सुनसरीका विशिष्ट साहित्यकारहरूको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।