सामुदायिक रेडियोहरुको सम्मेलन आज र भोलि
काठमाडौ, २५ साउन । दक्षिण एसियाली सामुदायिक रेडियो सम्म्ेलन आजदेखि काठमाण्डुमा सुरु हुने भएको छ । आज र भोलि दुईदिनसम्म चल्ने दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलनमा दक्षिण एसियामा रेडियोले खेलेका भूमिका र सिकाईहरु आदानप्रदान गरिनेछ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)को आयोजनामा पहिलो पटक हुन लागेको सम्मेलनमा नेपालसहित विश्वका विभिन्न देशहरुमा एकसयभन्दा रेडियो कर्मी र विज्ञहरुको सहभागिता रहनेछ ।
“दिगो विकासका लागि सामुदायिक रेडियो” भन्ने नाराका साथ सुरु हुने सम्मेलनमा सामुदायिक रेडियोले खेलेका भूमिका र सिकाईहरु आदानप्रदान गर्ने उद्देश्यले पहिलो पटक दक्षिण एसियास्तरको सम्मेलन गर्न लागिएको अध्यक्ष चापागाईले बताउनुभयो । सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भूटान, श्रीलंकालगायतका देशबाट करिब एकसय रेडियोकर्मी र विज्ञहरुको सहभागिता रहनेछ । सम्मेलनमा मलेसिया, बेलायत, नेपाल र विश्वका विभिन्न क्षेत्रबाट विशेषज्ञहरुको पनि सहभागिता रहनेछ ।
विपत् र अप्ठ्यारोमा सामुदायिक रेडियो, विकासमा सामुदायिक रेडियोको भूमिका लगायतका आधा दर्जनभन्दा बढी समुदाय र विकासका मुद्दामा सम्मेलनको क्रममा विषेश छलफलहरु हुनेछन् । आफूले आर्जन गरेको ज्ञान, सीप साटासाट गरि उत्कृष्ठ रेडियो कार्यक्रममार्फत समुदाय र विकासको साझेदार बन्न सम्मेलनले सहयोग पुग्ने अपेक्षा गरिएको अकोराबका अध्यक्ष चापागाइले बताउनुभयो ।
काठमाडौको ठमेलस्थित होटेल मर्स्याङ्दीमा हुने सम्मेलनको विहान साढे ८ बजेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ । देशभरी झण्डै ४ सय रेडियो प्रशारणमा रहेकोमा २ सय ९२ सामुदायिक रेडियो छन् । सरकारले पछिल्लो पटक सामुदायिक रेडियोलाई नीतिगत मान्यता दिएको छ ।