१५ सय ट्याक्सीका लागि हालसम्म ५० हजार आवेदन
काठमाडौ, २६ साउन । सरकारले भूकम्पपीडितलाई खुला गरेको १५ सय ट्याक्सीका लागि मंगलबारसम्म ५० हजारभन्दा बढी आवेदन परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न साउन ५ देखि आवेदन माग गरेको थियो ।
भूकम्पपीडितले यातायात व्यवस्था विभागमा आवेदन दर्ता गर्नेक्रम जारी छ । ‘अझै एक साता म्याद बाँकी छ,’ विभागका प्रवक्ता वसन्त अधिकारीले भने, ‘भदौ २ सम्म अन्तिम म्याद हो, ७० हजारभन्दा बढी आवेदन दर्ता हुने अनुमान गरेका छौं ।’ आवेदन दिएका भूकम्पपीडितलाई गोलाप्रथाबाट छनोट गरी १५ सय जनालाई ट्याक्सी खरिद गर्न दिइनेछ ।
भूकम्प प्रभावित जिल्लाबाट माइक्रो बस रिजर्भ गरेरसमेत आवेदन दर्ता गर्न पीडितहरू उपत्यका आउने गरेका छन् । बिहान ३ बजेदेखि नै ट्याक्सीको आवेदन दर्ता गर्न पीडितहरू लाइनमा बस्ने गरेका छन् । पानी परेका बेलामा समेत लाइन मिचिने डरले उनीहरू आफ्नो स्थान छाडदैनन् । ‘आठ घण्टाभन्दा बढी लाइन उभिइसकें, ट्याक्सी पाइने हो कि होइन,’ सिन्धुपाल्चोकका कर्मा लामाले भने, ‘गोलाप्रथाद्वारा ट्याक्सी छनोट गर्ने भन्छन् हो कि होइन अब थाहा हुन्छ ।’
२०७२ जेठ २८ मा मन्त्रालयले भूकम्पपीडितलाई ट्याक्सीको अनुमति दिने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीको दबाबले मन्त्रालय र यातायात व्यवस्था विभागले उक्त निर्णय कार्यान्वयन गर्न ढिलाइ गरेका थिए । दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ । ट्याक्सीमा भन्सार छुट तथा कुनै पनि सहुलियत भने नभएको प्रवक्ता अधिकारीले बताए । पीडित आफैं सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने र एकजनाले एकभन्दा बढी आवेदन दर्ता गर्न नपाइने पनि उनले बताए । विभागका एक अधिकारीले बढी आवेदन परेकाले गोलाप्रथाद्वारा छनोट गरिने बताए ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिका पालामा ३ हजार ३ सय ५० वटा नयाँ ट्याक्सी थप्ने निर्णय भएको थियो । त्यसमध्ये सर्वसाधारणलाई ७ सय, यातायात व्यवसायीलाई ६ सय ५० र ट्याक्सी चालकलाई ५ सय नयाँ ट्याक्सी दिने निर्णय भएको थियो । सर्वसाधारण, यातायात व्यवसायी र ट्याक्सी चालकले गोलाप्रथाबाट ट्याक्सी प्राप्त गरिसकेका छन् । नयाँ ट्याक्सी थप्दा भाडा दर र ट्याक्सीको मूल्य घट्ने भन्दै भूकम्पपीडितका नाममा थप ट्याक्सी नभित्र्याउन ट्याक्सी व्यवसायीले दबाब दिँदै आएका थिए ।
विभागका अनुसार उपत्यकामा हाल ७ हजार ट्याक्सी छन् । तीमध्ये ५ हजार ६ सय ५० पुराना र १ हजार ८ सय ५० नयाँ ट्याक्सी छन् । दिउँसो प्रतिकिमि ३५ रुपैयाँ र राति प्रतिकिमि ५४ रुपैयाँ ट्याक्सी भाडा व्यवसायीले असुल्ने गर्छन् । उपत्यकामा १ लिटर पेट्रोलले २२ किमि ट्याक्सी गुड्छ भने प्रतिलिटर पेट्रोलको ९७ रुपैयाँ पर्छ । – दीपेन्द्र विष्ट, कान्तिपुर दैनिकवाट