उपत्यकाका नदीबाट चौध मेट्रिक टन फोहर संकलन

२०७३ श्रावण २९ गते, शनिबार

काठमाडौँ, २९ साउन । उपत्यकाका प्रमुख नदी सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १७० औँ हप्तामा आज त्रिपुरेश्वर विश्वनिकेतन उच्च माध्यमिक विद्यालय पछाडिको बागमती क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर संकलन गरियो ।
ललितपुरको गुसिङ्गालक्षेत्रमा अव्यवस्थितरुपमा राखिएको होर्डिङ बोर्डलाई व्यवस्थित गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिकालगायतका संस्थाको सहभागिता थियो । सफाइको नेतृत्व पूर्व मुख्यसचिव लीलामणि पौडेल, चीनका लागि पूर्व नेपाली राजदूत महेश मास्के लगायतले गर्नुभएको थियो ।
अर्को शनिबार १७१ औँ हप्ताको बागमती सफाइ पनि त्रिपुरेश्वर–गुसिङ्गालक्षेत्रमै गरिने बागमती समितिले जनाएको छ ।
यसैगरी रुद्रमती सफाइको १२९ औँ हप्तामा आज रातोपुल– कालोपुल– सहिद स्मारक विद्यालय–ज्ञानेश्वर क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यस्थापन गरिएको छ । सफाइसँगै यस क्षेत्रमा जनचेतनामूलक सफाइ जागरण अभियान पनि चलाइएको रुद्रमती सरोकार समाजका वरिष्ठ उपाध्यक्ष रोहित गिरिले बताउनुभयो ।
सफाइमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, रोट्र्याक्ट क्लब अफ रुद्रमती, काठमाडौँ महानगरपालिका ३३ नं वडा कार्यालय लगायतको सक्रिय सहभागिता थियो । सफाइको नेतृत्व नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभयो ।
विष्णुमती सफाइको १०५ औँ हप्तामा आज कुलेश्वर महादेव मन्दिर आसपासमै सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । महादेव मन्दिर परिसरको त्रिवेणीघाटमा धेरै फोहर भएकाले सफा बनाइएको अभियानकर्मी अनिल धरेलले बताउनुभयो ।
यो क्षेत्रमा कवाडीले सडकमै कवाडी सामग्री राखेर बनाएको फोहरलाई पनि व्यवस्थापन गरिएको छ । सफाइमा सशस्त्र प्रहरी, सामुदायिक प्रहरी कुलेश्वर, जीवन विज्ञान नेपाललगायतका संस्थाको सहभागिता थियो ।
अर्को शानिबार १०६ औँ हप्ताको विष्णुमती सफाइ परोपकार माध्यमिक विद्यालय क्षेत्रमा गरिने भएको छ । यसैगरी गुह्येश्वरीमाथिको बागमती सफाइ अन्तर्गत जोरपाटी क्षेत्रमा साकुरालगायत विभिन्न जातका वृृक्षरोपण गरिएको छ । राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो । यस्तै नख्खुखोला लगायतमा पनि आज सफाइ गरियो । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार