कालाढुङ्गा दरबार जिर्ण बन्दै
काठमाडौ, ३० साउन । कालाढुङ्गा दरबारको नामले चिनिने बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको दरबार जिर्ण बन्दै गएको छ । वि.सं. २०६३ देखि दरबारको रेखदेख गर्दै आएका इन्द्रबहादुर डिसीका अनुसार दरबार संरक्षणमा कुनै पनि निकाय तथा व्यक्तिबाट चासो राखिएको छैन , दरबार भने जीर्ण बन्दै गएको छ । प्रचारप्रसार र रेखदेखको अभावले जिल्लामा रहेका अन्य विभिन्न पर्यटकीयस्थल पनि जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ छ ।
जिल्लामा पर्यटकीय विकासका लागि आउने बजेटको सदुपयोग गर्न समेत ब्यासी गाविसबासीले माग गरेका छन् । त्यस्तै बझाङ सदरमुकाम चैनपुरको भोपुरस्थित ऐतिहासिक दरबार संरक्षण अभावमा जीर्ण भएको छ । तत्कालीन बझाङी राजा देवीजंगबहादुर सिंहले १९९० सालमा यो दरबार बनाउन लगाएका थिए । सिंहले भारतको कलकत्ताबाट मिस्त्री ल्याएर बनाउन लगाइएको ऐतिहासिक एवं पुरातात्विक महव राख्ने दरबार भए पनि कसैले पनि यसको उचित संरक्षण र मर्मतसम्भारमा ध्यान नदिँदा दरबार जीर्ण बन्दै गएको हो ।
पञ्चायतकालमा नेपाली सेनाले दरबार र त्यहाँ रहेको जग्गा किनेर प्रयोग गर्ने गरेको थियो तर सशस्त्र द्वन्द्वको समयमा सेनाले शान्ति सुरक्षाको कारण जनाई सो ठाउँ छोडेर पडेसको पानकोटमा सरेपछि दरबार दिनप्रतिदिन जीर्ण बन्दै भत्किने अवस्थामा पुगेको छ ।