दाहाल सरकारले देश र जनताको पक्षमा काम गर्न सक्दैन : वैद्य

काठमाडौं, १ भदौ । नेकपा माओवादी क्रान्तिकारी पार्टीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने बताएका छन् । आज विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै वैद्यले ‘विदेशी शक्तिको आडमा अहिलेको सरकार बनेकाले देश र जनताको पक्षमा यसले काम गर्न नसक्ने’ टिप्पणी गरेका हुन् । उनले ‘सरकार परिवर्तनका लागि विदेशीको हात रहन्छ भने यस्ता सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्न नसक्ने’ ठोकुवा गरे । जनताको पक्षमा काम गर्ने सरकार अहिलेसम्म नबनेको भन्दै उनले नेपालीको मुद्दा नेपालीले नै टुंगो गर्ने व्यवस्थाको जरुरी रहेको बताए ।