चट्याङ लागेर ७२ भेडा मरे

२०७३ भाद्र २ गते, बिहीबार

काठमाडौं, २ भदौ । म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ ओटा भेडा मरेका र गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिए । बिहानमात्र होस खुलेका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त छन् ।
घाइतेद्वय छन्त्याल र विकका साथै भवीर विक, खिमसर विक, दुर्ग विक, विनय विक र प्रेमप्रसाद छन्त्यालका भेडा मरेका थिए । रातको समयमा भेडा राखेको खर्कमा चट्याङ परेको थियो । सो स्थानमा संयुक्त भेडागोठ थियो । अरु घाइते भेडा अझै अलपत्र अवस्थामा रहेकाले मर्नेको संख्या बढ्नसक्ने सामाजिक परिचालक छन्त्यालले बताए । ती भेडा मरेर रु १० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । जिल्ला पशुसेवा कार्यालयका प्रमुख दयाराम चापागाइँले क्षतिको विवरण संकलन गरी कृषकलाई राहतको व्यवस्था मिलाउन पहल गर्ने बताए । – रासस

प्रतिक्रियाहरु

[anycomment]