यातना दिएरै दैनिक १० जनाको हत्या
काठमाडौं, २ भदौ । एम्नेस्टी इन्टरनेसनलले सिरियाको जेलमा यातना दिएरै १८ हजार बन्दी मारिएको जनाएको छ । गृहयुद्धमा फसेयता सिरियाली सरकारले जेलमा सडाएरै हजारौं बन्दीलाई मृत्युको मुखमा धकेलेको हो । सन् २०११ देखि १५ कोबीचमा जेलमा रहेका कैदीलाई यातना र बलात्कार गरेर मारिएको एम्नेस्टीको प्रतिवेदनमा दाबी गरिएको छ । यातनापीडित जीवित ६५ जनाको अन्तर्वार्तासमेत समेटिएको उक्त प्रतिवेदनमा पीडितहरुले बन्दीगृह र जेल नरकसरह रहेको जनाएका छन् ।
‘मानवीयताकै अन्त्य’ नाम दिइएको प्रतिवेदनमा यातना दिएरै दैनिक १० जनाको हत्या गर्ने गरिएको जनाइएको छ । अधिकारकर्मी समूहहरुले सिरियामा दिइँदै आएको यातना अन्त्यका लागि राष्ट्रपति बसर अल असदको सरकारलाई दबाब दिन विश्व समुदायसँग लगातार आग्रह गर्दै आएका छन् भने सिरियाले यस्ता सबै आरोप अस्वीकार गरिरहेको छ । – एजेन्सी