इशान बाल अस्पताल तनावग्रस्त

२०७३ भाद्र ७ गते, मंगलवार

काठमाडौं, ७ भदौ । काठमाडौंको बसुन्धारास्थित इशान बाल तथा महिला अस्पतालमा उपचारकाक्रममा शिशुको मृत्यु भएपछि अभिभावकले ढुंगामुढा गर्दा अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको जनाउँदै आफन्तले शव बुझेका छैनन् । सोमबार राति १ बजे निमोनियाबाट पीडित तीन वर्षीय विकृष्ण महर्जनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । सघन उपचारकक्षमा भर्ना गरी उपचार भइरहेको बालकको बिहान ५.४५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विपीन जंगमले जानकारी दिए ।
अस्पतालसँग दुईपटकसम्म छलफलमा बस्दा पनि आफन्तले शव नबुझेको जंगमले बताए । उनले भने–‘बच्चालाई राति शिक्षण अस्पताल महाराजगन्जमा सघन उपचारकक्षमा शैय्या खाली नभएकाले हाम्रो अस्पतालमा रेफर गरिएको थियो । मृतक शिशुको निमोनिया बिग्रिसकेको रहेछ । छातीबाट मुटुतिर निमोनिया फैलिएकोले मृत्यु भएको हो ।’
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले बिहान तनावग्रस्त भएपनि अहिले वातावरण सामान्य भइसकेको बताए । – रासस

प्रतिक्रियाहरु

[anycomment]