मन्त्रीपरिषद् विस्तार , नवनियुक्त १३ मन्त्रीले सपथ लिए
काठमाडौ, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक मन्त्रीपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री बनेका दाहालले नेपाली कंग्रेसको तर्फबाट १३ जनालाई सहभागी गराउँदै तेस्रोपटक मन्त्रीपरिषद् विस्तार गरेका हुन् । नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त १३ जना मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनियताको सपथ गराइन् । नेपाली कांग्रेसको तर्फबाट अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रममन्त्री भएका छन् ।
यसैगरी सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन् । गगन थापा स्वास्थ्य र शंकर भण्डारीले वन मन्त्री बनेका छन् ।
यसअघि नेकाका तर्फबाट उप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक सरकारमा सहभागी भइसकेका छन् । नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्त, तीनवटै सुरक्षा निकायमा प्रमुख, मुख्य सचिव डा सोमलाल सुवेदी र नेपाल सरकारका विशिष्ट अधिकृतहरुको सहभागिता रहेको थियो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल साउन १९ गते व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्री पदमा निर्वाचित गरेको थियो । उनले साउन २० गते पद तथा गोपनीयताको शपथ लिए ।