त्रिवि पदाधिकारीबाट प्रधानमन्त्रीको ध्यानाकर्षण

२०७३ भाद्र १२ गते, आईतवार

काठमाडौँ, १२ भदौ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेट गरी विश्वविद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् । विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँको नेतृत्वमा गएको टोलीले त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिँदै विश्वविद्यालयको गतिविधिबारे अवगत गराएको हो । सो अवसरमा विश्वविद्यालयका पदाधिकारीले संसारकै ठूलो विश्वविद्यालयको रुपमा छवि बनाएको त्रिविलाई थप प्रवद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रधानमन्त्री दाहालले विश्वविद्यालयको छवि र गरिमालाई थप उचाइमा पु¥याउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । विश्वविद्यालयको चासोप्रति प्रधानमन्त्री अत्यन्तै सकारात्मक रहेको र सरकारले गर्नुपर्ने सबैखालका सहयोग गर्न उहाँले तत्परता देखाएको भेटपछि उपकुलपति खनियाँले सञ्चारकर्मीलाई जानकारी दिए ।
“संसारकै ठूलो विश्वविद्यालयप्रति सरकारको विशेष ध्यान जाओस्, विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्राज्ञिक दृष्टिकोणबाट होस्, त्यसका लागि प्रधानमन्त्रीबाट दलहरुसँग संयोजन गरी सकारात्मक सहयोग र सद्भाव प्राप्त होस् भनी अनुरोध गर्दा सबै विषयमा प्रधानमन्त्री सकारात्मक रहेको पायाँै” – उपकुलपति खनियाँले भने ।

प्रतिक्रियाहरु

[anycomment]