नवदुर्गा नाचमा देवगणको अभाव
काठमाडौँ, १६ भदौ । भक्तपुरको नवदुर्गा नाचका लागि देवगण हुने व्यक्तिको अभाव देखिएको छ । युवा पुस्ता विदेशिने तथा पश्चिमी संस्कृतिप्रति मोह बढ्दै गएपछि नाचका लागि देवगण हुने व्यक्तिको अभाव देखिएको हो । भक्तपुरको नवदुर्गा नाचमा प्रत्येक वर्ष देवगण, बाजा बजाउने फेरिने परम्परा छ । त्यसैले यहाँ नाच सञ्चालन गर्न थुप्रै कठिनाइ भएको नवदुर्गा नाचका नाइके बुद्धिबहादुर बनमालाले बताए ।
बडा दसैँको कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखलाई दर्शन गराउन देवगणको नाच देखाउने चलन भएको जानकारी दिँदै बनमालाले भने , नाचमा सहभागी हुनेले नाच सिक्ने क्रममा हुने सबै खर्च आफैँले बेहोर्नुपर्छ । यसले वर्ष दिनमा ६० र ७० हजार रुपियाँ खर्च हुने गर्छ । आफैँमा आर्थिक भारका साथै देवगण बनिसकेपछि तीन महिना प्रशिक्षण, एक महिना मन्दिरमा हुने गोप्य पूजा र चार महिना लगातार हुने जात्रा पर्वमा समय खर्चनुपर्छ ।
यसले गर्दा जागिर खान, व्यवसाय गर्न नसकिनेलगायत विविध कारणले नाचप्रति युवा पुस्ताको आकर्षण कम हुँदै गएको नाचका गुरु बनमालाले बताए ।