माओवादी : संघर्षका कार्यक्रम सार्बजनिक गर्दै

काठमाडौं, २० भदौ । नेकपा (माओवादी) ले आज राजधानी काठमाडौंमा जनजीविकाको बिषयलाई लिएर बिशेष संघर्षको कार्यक्रम सार्बजनिक गर्ने भएको छ । आज मध्यान्ह १२बजे काठमाडौंको प्रज्ञा भवन आयोजना हुने सो कार्यक्रममा मुखमै आएको दशैंलाई मध्यनजर गर्दै महंगी र कालो बजारीलाई नियन्त्रण गर्न सरकार समक्ष कडा माग राख्ने तयारी माओवादीले गरेको छ । उसले दैनिक उपभोग्य सामानको मूल्य समेत निर्धारण गरी सोही मूल्यमा सामग्री उपलब्ध गराउन सरकारलाई बाध्य पार्ने अन्यथा जनता साथमा लिएर संघर्ष चर्काउने योजना बनाएको बुझिएको छ ।
यसैगरी, माओवादीले यही भदौ २५ गते राजधानी काठमाडौंमा बृहत् प्रदर्शन र सभा गर्ने भएको छ । पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस गठबन्धन नेतृत्वको सरकारले भारत भ्रमणका क्रममा गर्न सक्ने सम्भावित राष्ट्रघाती कदमका विरूद्ध माआवादीले राजधानीमा बृहत् सभा गर्न लागेको बुझिएको छ । कांग्रेसको आडमा बनेको प्रचण्ड नेतृत्वको सरकारले सो भ्रमणमा माथिल्लो कर्णाली, अरूण तेस्रो, नौमुरे, चिसापानी, कालपानीलगायत जलस्रोतका क्षेत्रमा असमान सम्झौता गर्न सक्ने आशंका भइरहेको बेला माओवादीले यस्तो प्रदर्शन गर्न लागेको हो ।
प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गतेतिर भारत भ्रमणमा जाने भएका छन् । प्रचण्ड नेतृत्व सरकार भारतको आडमा बनेको भन्ने विपक्षी दलहरूले आरोप लगाइरहेको बेला माओवादीले यो सरकारलाई राष्ट्रका विरूद्धमा कुनै पनि कदम नउठाओस् भन्ने मनसायका साथ गर्न लागिरहेको यो विशाल प्रदर्शनको ठूलो अर्थ रहने बताइन्छ ।