आज निजामती सेवा दिवस
काठमाडौ, २२ भदौ । आज तेह्रौं निजामती सेवा दिवस, ‘सेवामैत्री प्रशासन, संघीयतामा सुशासन’ भन्ने नाराका साथ मनाईंदैछ । विशेष गरी निजामती सेवामा कार्यरत कर्मचारीहरुले आज राजधानीसहित मुलुकभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । काठमाडौंको भृकुटीभण्डपबाट प्रभातफरि पछि प्रज्ञाभवन कमलादीमा विशेष कार्यक्रममा परिणत हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित हुने छन । दिवसको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्रीले निजामती कर्मचारीलाई परिवर्तीत समयको प्राथमिकता, माग र आवश्यकता अनुसार राष्ट्र र जनताको हितमा काम गर्न आग्रह गरेका छन । नेपालमा निजामति सेवा गठन भएको ६१ वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेदेखि मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । अहिले नेपालमा झण्डै ८० हजार निजामती कर्मचारी छन् ।
दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई सरकारले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कर्मचारीको रुपमा पुरस्कृत गर्दैछ । पुरस्कारको राशि २ लाख रुपैयाँको हुनेछ । सुवेदी अहिले भने अर्थ मन्त्रालयमा सरुवा भइसक्नु भएको छ । यसैगरी आजै अन्य १० जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी सेवानिवृत्त राष्ट्र सेवक कर्मचारी सम्मानबाट पनि ५० जनालाई सम्मान गरिन लागेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।