यी हुन् माओवादी केन्द्रका ‘बेरोजगार’ नेता

२०७३ भाद्र २२ गते, बुधबार

काठमाडाै , २२ भदौ । माओवादी केन्द्रका केही प्रभावशाली नेतासहित केन्द्रीय कार्यालयका अधिकांश नेता उपयुक्त जिम्मेवारी नपाएकाले बेरोजगार बन्न पुगेका छन् । अघिल्लो सरकारमा सहभागी मन्त्री मात्र होइन, बुढ्यौली उमेरमा पनि सक्रिय जिम्मेवारीको खोजी गरिरहेका नेताहरूलाई के काम दिने भन्नेमा माओवादी केन्द्रले निर्णय लिन सकिरहेको छैन । पार्टी एकतापछि बनेको भद्रगोल संगठन र संस्थागत नीति निर्माण हुन नसक्दा प्रभावशाली भनिएकै कतिपय नेता कामविहीन भएका हुन् । कतिपयले भने दोहोरो भूमिका पाएका छन् । काम नपाएका नेताहरूले भने पार्टीले आफूहरूको क्षमताअनुसारको उपयुक्त जिम्मेवारी दिन नसकेको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।
केन्द्रीय कार्यालयकै नेताहरू बेरोजगार माओवादीको ३३ सदस्यीय केन्द्रीय कार्यालयमा अहिले २३ जना नेता छन् । तर, केन्द्रीय कार्यालयमै रहेका कतिपय नेताहरू कार्यकारी भूमिकामा छैनन् । संगठन विभाग प्रमुख, प्रदेशका इन्चार्जहरूबाहेक अन्य नेताहरूको खासै प्रभावकारी भूमिका नरहेको नेताहरू स्वीकार गर्छन् । पार्टी अध्यक्षसहित केन्द्रीय कार्यालयका नेताहरू कृष्णबहादुर महरा र जनार्दन शर्माले मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
अघिल्लो केपी ओली सरकारमा सहभागी शक्ति बस्नेतबाहेक अन्य नेतालाई माओवादीले पार्टी कामको जिम्मेवारी दिएको छैन । केही नेतालाई संगठन विभाग र सरकार सञ्चालन सहयोग समितिमा राखिए पनि अग्नि सापकोटालाई कुनै जिम्मेवारी दिइएको छैन ।
‘केन्द्रीय कार्यालयकै नेताहरूसँग कार्यकारी भूमिका छैन, अन्यको अवस्था के होला रु’ माओवादी केन्द्रीय कार्यालयका एक नेताले नया“ पत्रिकासँग भने, ‘क्षमतावान नेताहरूलाई समेत सामान्य विभागमा मात्रै थन्काइएको छ ।’ विभागीय जिम्मेवारी छ, तर कामकाजी छैन माओवादी केन्द्रले पार्टीका प्रमुख नेताहरूलाई विभागीय जिम्मेवारी तोकेको छ, तर ती विभागीय जिम्मेवारी कामकाजी नरहेको माओवादी केन्द्रका नेताहरूको भनाइ छ ।
उसले पार्टीका २६ जना नेतालाई विभिन्न जनवर्गीय संगठन तथा मोर्चाहरूको फ्याक्सन इन्चार्जको जिम्मेवारी तोकेको छ । ‘कसैको पनि खासै जिम्मेवारी छैन भन्दा पनि हुन्छ,’ नेता दीनानाथ शर्माले नयाँ पत्रिकासँग भने, ‘मन्त्री हुने र पार्टीको संगठन विभागका केही नेताहरूको केही काम होला, जिम्मेवारीअनुसार उहाँहरूले काम पनि गर्नुभएको होला, नत्र अरू कसैको जिम्मेवारी छैन ।’
माओवादीले संगठन विभाग, सरकार सञ्चालन सहयोग समिति, अन्तर्राष्ट्रिय विभाग, प्रचार विभाग बनाएको छ । अन्य विभागहरू उसले बनाइसकेको छैन । पार्टी संरचनाभित्रका विभाग गठन हुन नसक्दा धेरै नेता बेरोजगार बन्न पुगेका छन् । ओली सरकारका मन्त्रीले नै पाएनन् जिम्मेवारी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा माओवादीबाट आठ मन्त्री थिए ।
उनीहरूमध्ये शक्ति बस्नेतलाई मात्रै अहिले कार्यकारी जिम्मेवारी दिइएको छ । उनी ६ नम्बर प्रदेश इन्चार्ज हुन् ।
गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्नि सापकोटा, रेखा शर्मा, गणेशमान पुनलगायतका नेताहरू बेरोजगार नै छन् । पोखरेललाई सरकार सञ्चालन सहयोग समिति र संगठन विभागभित्र राखिएको छ, तर ठोस र कार्यकारी भूमिका भने छैन ।
काम नपाउने नेता
अमिक शेरचन, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटा, दीनानाथ शर्मा, लोकेन्द्र विष्ट, नारायण शर्मा, लीलामणि पोखरेललगायतका नेतासँग अहिले कुनै कार्यकारी भूमिका छैन ।
पार्टीले केहीलाई विभाग र जवस मोर्चाहरूको जिम्मेवारी दिएजस्तो गरे पनि ती कामकाजी छैनन् । त्यस्तै, कुनै वेला प्रभावशाली कहलिएका स्वनाम साथी, निनु चापागाईं, घनश्याम शर्मा पौडेललगायतका नेताहरूले पार्टी सदस्यता मात्रै नवीकरण गराइरहेका छन् ।
उनीहरूलाई माओवादी केन्द्रले जम्बो केन्द्रीय आयोजक समितिमा समेटेको छ । तर, क्षमताअनुसारको कामको जिम्मेवारी दिन सकेको छैन ।- नयाँ पत्रिका दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]