साल्ट ट्रेडिङका सलहहरु

२०७३ भाद्र २६ गते, आईतवार

काठमाडौं,२६ भदौ । साल्ट ट्रेडिङ कं. लि. भ्रष्टाचारीको चङ्गुलमा परेको समाचार विभिन्न पत्रपत्रिका र अनलाइनमा निरन्तर प्रकाशन भइरहेका छन् । आफ्नो संस्थाभित्र भएका भ्रष्टाचारका समाचारहरु प्रकाशित हुन थालेपछि साल्ट ट्रेडिङका अध्यक्ष, कार्यकारी निर्देशक र डिभिजिनल म्यानेजर ब्रजेशकुमार झा आफ्नो कर्तुत लुकाउन र समाचार रोक्न नेपाली काँग्रेस, एमाले र माओवादीका नेता तथा कार्यकर्ता गुहार्दै हिँडेको भेटिएको छ । यस कार्यमा मुख्यरुपमा साल्ट ट्रेडिङका डिभिजिनल म्यानेजर ब्रजेशकुमार झाको दौडधूप बढी देखिएको छ । म्यानेजर झाले विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ताको दैलो चाहार्दै पत्रिका र अनलाइनका सम्पादकहरुलाई समाचार रोकिदिन दबाब दिँदै आएको समाचार प्राप्त भएको छ । यस समाचार प्रकाशित भएपछि सत्यतथ्य उजागर गर्न सहयोग पु¥याउनुको साटो समाचार रोक्न दौडधूप गर्नुले साल्ट ट्रेडिङ कम्पनीमा भ्रष्टाचारीहरुको हालिमुहाली भएको पुष्टि भएको सम्बद्ध कर्मचारीहरु बताउँछन् । यसै क्रममा साल्ट ट्रेडिङका एक कर्मचारी भन्छन्, यहाँ अध्यक्ष, कार्यकारी निर्देशक र डिभिजिनल म्यानेजर ब्रजेशकुमार झाको मिलेमतोमा व्यापक आर्थिक अनियमितता भइरहेको छ । ग्याँसमा चुहावट देखाउँदै आपूm र आफ्नो आसेपासे, नातागोता र शक्तिकेन्द्रका विभिन्न व्यक्तिहरुलाई निःशुल्क ग्याँस, उपलब्ध गराउने काम भएको छ । यसैगरी, दाल, गेडागुडी, चामल, चिनी, नुन, तेललगायतका सामानमा चुहावट र जर्तीको खेलमा आपूm, आफन्त र विभिन्न नेता, कार्यकर्ताकहाँ निःशुल्क उपलब्ध गराउने प्रचलन रहेको छ । यी र यस्ता काममा प्रत्यक्षरुपमा डिभिजिनल म्यानेजर झाको संलग्नता रहने गरेको ती कर्मचारीको ठोकुवा छ ।
यसै प्रसङ्गलाई जोड्दै साल्ट ट्रेडिङका अर्का एक कर्मचारी भन्छन्, वर्तमान कार्यकारी निर्देशक उर्मिला श्रेष्ठ र म्यानेजर झा यस कम्पनीका सलह हुन्, उनीहरुले साल्ट ट्रेडिङलाई निल्न लागिसके तापनि सम्बद्ध निकाय मौन रहनु आश्चर्यजनक छ भन्दै उनी अगाडि भन्छन्, यदि साँच्चै साल्ट ट्रेडिङ कं. लि. लाई बचाइराख्ने हो भने यी सलहहरुलाई बेलैमा तह लगाउनुपर्छ अन्यथा पछि पछुताउनुको विकल्प रहँदैन ।
यसैबीच, साल्ट ट्रेडिङ कं. लि. डिभिजिनल म्यानेजर ब्रजेशकुमार झाले कम्पनीको शाखा कार्यालय बिराटनगरमा रहँदा लाखौँ रुपैयाँ अनियमितता गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार झाले साल्ट ट्रेडिङको शाखा कार्यालय बिराटनगरमा व्यापक अनियमितता गरेपछि उनलाई कारवाही गर्नुपर्ने माग उठेको थियो । तर, उनी शक्तिकेन्द्रको बलमा केन्द्रीय कार्यालयमा सरुवा भए र यो कुरा त्यतिकै सेलायो । म्यानेजर झा विगतदेखि नै विवादित व्यक्ति भएको र शक्तिकेन्द्रको आडमा साल्ट ट्रेडिङमा हालिमुहाली गरिरहेको स्रोतको ठोकुवा छ । स्रोतका अनुसार झाको शैक्षिक योग्यताको विषयमा समेत साल्ट ट्रेडिङ कं. भित्र पटक–पटक विवाद उठ्ने गरेको छ भने उनीबाट कैयौँ पटक महिला कर्मचारीसमेत प्रताडित भएको आवाज उठ्ने गरेको छ । तर, यी सबै विवाद भित्रभित्रै दबाउने गरिएको छ । यी र यस्ता विषयमा समाचार प्राप्त भएपछि यथार्थता के हो भनी बुझ्न साल्ट ट्रेडिङ कं. लि. मा पटक–पटक सम्पर्क राख्दासमेत कार्यकारी निर्देशक उर्मिला श्रेष्ठलाई फेला पार्न सकिएन भने उनको मोबाइल नम्बर ९८५१०२२५६४ मा पटक–पटक सम्पर्क गर्दासमेत मोबाइल उठेन । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]