भारतसँग राष्ट्रहितविपरीत सम्झौता नगर्न खबरदारी

२०७३ भाद्र २९ गते, बुधबार

काठमाडौं । राष्ट्रिय सरोकार अभियान नेपाल, माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियान र सरोकारवाल विज्ञ समूहले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका क्रममा राष्ट्रहितविपरीत सम्झौता नगर्न खबरदारी गरेका छन् । सार्वभौमिकता, समान सम्प्रभुता र सम्पदा रक्षाका लागि विज्ञ समूह र सरोकारवालाहरुले राजधानीमा खबरदारी गरेका हुन् । प्रधानमन्त्री भारत भ्रमणमा जानुपूर्वसन्ध्यामा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनीहरुले अभियान थालेका हुन् । मंगलबार माइतघ मण्डलामा खबरदारी ब्यानरसहित विभिन्न क्षेत्रका विज्ञहरुले धर्ना दिएका थिए ।
धर्नामा उनीहरुले ६ बुँदे मागसमेत प्रस्तुत गरे । प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भ पारेर ‘सार्वभौमिकता, समान सम्प्रभुता र सम्पदा रक्षाका लागि राष्ट्रिय अभियान’ नाम दिएर धर्ना दिए ।
असमान सन्धिको खारेजी, माथिल्लो कर्णाली, अरुण तेस्रो, उपल्लो मस्र्याङदी हाइड्रो सम्झौता खारेजी, कालापानीबाट भारतीय सेना फिर्ता, कोशीमा रहेको भारतीय कार्यालय बन्द, काठमाडौं–निजगढ फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउनुपर्ने, नेपाल–भारतबीच समानताका आधारमा सम्बन्ध कायम गरिनुपर्नेलगायत माग राखेका छन् । अभियानमा सिमाविद् बुद्धिनारायण श्रेष्ठ, परराष्ट्र हिराण्यलाल श्रेष्ठ, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, जलस्रोतविज्ञ द्वारिका ढुंगेल, बुद्धिजीवि राजेन्द्र रेग्मीलगायतको सहभागीता थियो ।

प्रतिक्रियाहरु

[anycomment]