दाहाल मोदी संयुक्त पत्रकार सम्मेलन सम्पन्न
काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिबृद्धिमा प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा विद्यमान सम्भाव्यताबाट दुबै मुलुकले लाभ लिनुपर्ने बताएका छन् । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनकाक्रममा दुबै मुलुकको दिगो आर्थिक विकासका लागि आपसी साझेदारी आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री दाहालले भने–‘विकासका लागि शान्ति र राजनीतिक स्थिरता आवश्यक छ ।’
प्रधानमन्त्री दाहालले दुबै मुलुकका प्रतिनिधिमन्डलबीच पञ्चेस्वर बहुउद्देश्यीय परियोजना अघि बढाउन विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) हुलाकीसडक, विद्युत् प्रसारणलाइन सम्झौता रेलवे सेवा, जलविद्युत् परियोजना सम्बन्धमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण छलफल भएको बताए ।
संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुबै मुलुकबीच हुने उच्चस्तरको राजनीतिक भ्रमणले सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमै भारतका राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण हुने अपेक्षा पनि गरे । भारतको आर्थिक विकासबाट नेपालले प्रेरणा लिने बताउँदै उनले आर्थिक समृद्धिका लागि व्यापार र पारवहन सम्पर्क सञ्जाल आवश्यक रहेकामा जोड दिए । – रासस