प्रचण्डलाई पछ्याउँदै वैद्य

२०७३ आश्विन १ गते, शनिबार

काठमाडौँ, १ असोज । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी अन्ततः नेकपा माओवादी केन्द्रको नीति र एजेण्डालाई पछ्याउँदै संसदीय भासमा डुबुल्की मार्नेतिर उद्यत भएको छ । वैद्य नेतृत्वका क्रान्तिकारी माओवादीले मोर्चामार्फत् निर्वाचनमा भाग लिने जनाएपछि यस्तो आँकलन सुरु भएको हो । पार्टीले मोर्चा बनाउँदै निर्वाचनमा जाने नीति लिएपछि विवाद सिर्जना भएको एक नेताले बताएका छन् । नेपाली क्रान्तिका रक्षकका रूपमा लिँदै हामीले अहिलेसम्म मोहन वैद्यलाई साथ दिँदै आएका थियौँ । तर, उनको पछिल्लो कदमले उनी पनि प्रचण्डको पिछलग्गु भएको पुष्टि भएको छ भन्दै उनले आक्रोश पोखे ।
यस विषयमा नाम उल्लेख नगरिदिन अनुरोध गर्दै वैद्य माओवादीका एक केन्द्रीय सदस्य भन्छन्– “वैद्यले प्रचण्डको सल्लाहअनुसार मोर्चा गठन गरेका हुन् । मोर्चामा परि थापासँग एकतामा आएकालाई पचहत्तर प्रतिशत स्थान दिनुले पनि यसको पुष्टि हुन्छ भन्दै उनी अगाडि भन्छन्, अब वैद्य माओवादी संसदीय भासमा जाकिने सतप्रतिशत निश्चित भएको छ । जनविद्रोहको लाइन मोहन वैद्यको देखाउने दाँत मात्र भएको सावित भएको छ । वैद्यले अन्तिममा प्रचण्डसामु नै घुँडा टेक्ने निश्चित भएको छ । यदि वरिष्ठ नेता सीपी गजुरेल बाधक नबनेका भए वैद्य माओवादी बादलहरूसँगै माओवादी केन्द्रमा विलय भइसक्थ्यो भन्दै उनी अगाडि भन्छन्, नेता गजुरेल पनि प्रचण्डसँग विचारमा नभई व्यक्तिगतरूपमा विरोधी भएकोले सो हुन नसकेको हो । तर, अब घुमाउरो पाराले मोर्चामार्फत् पार्टी संसदीय भासमा जाने निश्चित भएको छ । पार्टीको यो नीतिसँगै मोहन वैद्य पनि अन्ततः मोहनविक्रमको लाइन समात्न पुगेका छन् । यसले नेपालको कम्युनिस्ट आन्दोलनमा पुनः अर्को धक्का लागेको उनको विश्लेषण छ ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) ले निर्वाचनमा भाग लिने उद्देश्यका साथ वरिष्ठ नेता सिपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेको छ । मोर्चाको पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार रहेका छन । मोर्चाका अध्यक्ष गजुरेलले निर्वाचन भएमा त्यसलाई उपयोग गर्न मोर्चा गठन गरिएको बताएका छन । उनले भने– ‘हामीले पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने र पार्टी नाममा निर्वाचनमा भाग नलिने निर्णय गरेका छौँं, तर आवश्यकताअनुसार मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय गरेका छौँं ।’ महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारीलगायत जनजीविकाका र राष्ट्रियताका समस्या समाधान गर्न दबाब दिन मोर्चाले छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष गजुरेलले जानकारी दिए । मोर्चा अब जनताको बीचमा जाने र वडास्तरसम्म सङ्गठन विस्तारलाई तीव्रता दिइने उनको भनाइ छ । यसअघि गत संविधानसभा निर्वाचन बहिस्कार गरेको सो पार्टीले मोर्चा गठन गरी अब हुने निर्वाचनमा भाग लिने तयारी गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]