प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कदै
काठमाडौं, २ असोज । भदौं ३० गते भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री प्रचण्डले तीन दिनको भारत बसाईमा गरिएका भेटवार्ताबाट भारतसँगको सम्बन्ध सुधार्न सफल भएको दावी गरेका छन् । काठमाडौं फर्कनु अगाडी उनले योगगुरु रामदेवले स्थापना गरेको पतञ्जली पीठको भ्रमण गर्नेछन् ।
यसअघि, नेपालमा लगानी गरेका भारतीय उद्योगी एवं व्यापारी समुदायले हिजो गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको बताएका थिए । उनले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले लगानीको वातावरण बनाउँदै गएको बताएका हुन् । लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको दाबी उनको थियो ।
प्रधानमन्त्री प्रचण्डले सरकारले लगानी एवं राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गरे । उनले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राखे ।
प्रधानमन्त्री प्रचण्डले विगतमा भएका अप्ठ्यारा सङ्लँदै गएको र अब शंका गर्नुपर्ने कारण नभएको जिकीर गर्दै भारत र चीन जस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै नसक्ने दाबी गरे । नेपालमा समृद्धिको ढोका खुलेको उनकोको भनाइ थियो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जी, पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायत नेताहरुसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।