आज संविधान दिवस
काठमाडौं, ३ असोज । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिँदैछ । सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवं नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ । संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
नेपालको लिखित संविधान मध्ये यो सातौँ संविधान हो । यसअघिका सबै संविधान आयोग वा विभिन्न रुपमा निर्माण भएपनि जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान भने यो नै पहिलो हो ।