छन्दकवि शुभेच्छुसँगै “मलामी” का दुई कुरा (समीक्षात्मक टिप्पणी) – अशोक कुँवर ‘नेत्र’

“मलामी” रमेश शुभेच्छुकृत कविता कृति हो । यो कविता कृति फुटकर कविताहरूको सङ्कलित सङ्ग्रह हो । कलर्स इन्टरनेसनल पब्लिकेसन प्रा.लि द्वारा प्रकाशित यस कृतिमा जम्मा चालिस ओटा फुटकर कविताहरू सङ्गृहीत छन् । कुल बहत्तर पृष्ठमा संरचित यसको मूल कविता खण्ड भने एकसट्ठी पृष्ठको रहेको छ । कविता सङ्ग्रहको बजार मूल्य भने रु. एक सय पचपन्न राखिएको छ ।
रमेश शुभेच्छु नेपाली भाषा साहित्य र पाठ्य पुस्तक लेखनका क्षेत्रमा नयाँ नाम होइन । पाँचथर जिल्लाको सुभान ९ मा वि.सं. २०३६ वैशाख १ गते जन्मिएका उनको खास नाम भने रमेशकुमार लुइटेल हो । नेपाली विषयमा एमए, एमएड, एमफिल गरी विद्या वारिधि तहमा अनुसन्धानरत उनी हाल प्राध्यापन, पुस्तक लेखनका अतिरिक्त साहित्यिक पत्रकारिता, रेडिया, टेलिभिजन कर्ममा सक्रिय छन् । भाषा साहित्यका पाठ्य पुस्तक लेखन, बाल, कथा, गजल, काव्य, हास्य व्यङ्ग्य, समीक्षा, समालोचना, सम्पादन आदि विधामा उनका दर्जनौँ कृतिहरू प्रकाशित भइसकेका छन् । राजधानी तथा मोफसलका तेत्तिसभन्दा बढी साहित्यिक सङ्घसंस्थामा उनको प्रत्यक्ष परोक्ष संलग्नता रहेको देखिन्छ ।
“मलामी” प्रगतिवादी धारालाई अँगादै रचना भएको कविता कृति हो । कवि शुभेच्छु स्वयम्मा शालीन व्यक्तित्वका धनी हुन् । एकातिर कविको शालीनता र अर्कोतिर कविता कृतिको क्रान्तिकारिताले दुवैको ओज बढेको देखिन्छ । समकालीन नेपाली साहित्यको फाँटमा प्रगतिवादी कविता भनेको पूर्वीय साहित्यिक दर्शनभन्दा भिन्न– जनताले सहजै बुझ्न सकिने गद्य शैलीको कविता भन्ने बुझाइ रहेको पाइन्छ । यस्तो अवस्थामा यो सङ्ग्रह– पद्य कविताले पनि गरिब, निमुखा, सर्वहारा वर्गको प्रतिनिधित्व गर्न सक्छ, पद्य कविता पनि सहज, सरल ढङ्गले प्रवाहित हुन सक्छ भन्ने गतिलोे उदाहरण बन्न पुगेको छ ।
प्रस्तुत कविता काव्यमा छ प्रकारका छन्दका कविताहरू रहेका छन् । जसमा अनुष्टुप्, शार्दूलविक्रीडित, मालिनी, उपजाति, शिखरिणी र मन्दाक्रान्ता पर्दछन् । सङ्गृहीत कवितामध्ये अनुष्टुप् छन्दका उन्नाइस, शादूलविक्रीडित छन्दका पन्ध्र, मालिनी छन्दका दुई, उपजाति छन्दका दुई, शिखरिणी छन्दको एक र मन्दाक्रान्ता छन्दको एक ओटा कविता छन् । ‘माछा र कमिला’, ‘मान्छे र महादेश’, ‘उकाली ओराली’, ‘ओखर’, ‘देवकोटा’, ‘परिवर्तन’, ‘चुनौती’, ‘धन्य’, ‘शक्ति’, ‘धरहराका अन्तिम वाक्य’, ‘अनुशासन’, ‘जिम्मेवारी’, ‘तिमी’, ‘स्प्रिङ’, ‘म पानी’, ‘जीवन सँगिनी’, ‘मलामी’ कविता अनुष्टुप् छन्दमा छन् । यस्तै ‘युगजिता र सर्वस्वहारा’, ‘भोगाइ’, ‘आमा… छ’, ‘गधा’, ‘नेपथ्य’, ‘मेरो पात्र’, ‘नयाँ पात्रो’, ‘पिल्पिल टुकी’, ‘रमिता’, ‘हन्बेर्नु’, ‘डिग्बोइ’, ‘म–हामी’, ‘आसाम’, ‘बाँस फल’, ‘कालो दर्शन’ कविता शार्दूलविक्रीडित छन्दमा छन् । यसै गरी ‘बेला अबेला’, ‘मौरी’ मालिनी छन्दमा छन् भने ‘धर्ती ढोग’, ‘खरानीको डोरी’ उपजाति छन्दमा छन् । ‘कामना’ कविता शिखरिणी छन्दमा छ भने ‘अदलबदल’ मन्दाक्रान्ता छन्दमा छ ।
“मलामी” कविता काव्य वि.सं. २०६४ पछि रचना भएका कविताहरूलाई सङ्कलन गरी प्रकाशन गरिएको कविता काव्य भएको जानकारी कविले प्रत्येक कविताको अन्त्यमा गराएका छन् । यस अवधिबिच कविका उल्लेख्य सङ्ख्यामा कविता काव्यहरू प्रकाशन भएका छन् । यस सङ्ग्रहमा सङ्गृहीत कविताहरू अन्य कविता काव्यमा सङ्कलन नगरिनुमा कविताहरूमा व्यक्त भाव, विचार, विषय सन्दर्भ प्रमुख कारण हो भन्ने कुरा स्पष्ट हुन्छ । यसै कृतिको आवरण पृष्ठमा प्रकाशित कृतिका टिप्पणीकार प्रा. राजेन्द्र सुवेदीको टिप्पणीलाई अध्ययन गर्दा यस कृतिका कविताहरू विविध विषय वस्तुसँग सम्बन्धित छन् । खास गरी जीवनका बहु आयामिक विषय, जीवन भोगाइ र त्यस क्रममा उत्पन्न विकृति एवम् विसङ्गति, व्यक्ति प्रकाश, स्थान प्रकाशमा ती कविताहरू केन्द्रित रहेको भनाइ सुवेदीको रहेको देखिन्छ । सारतः “मलामी” का कविताहरू त्यत्तिमा मात्रै केन्द्रित रहेको छैन भन्ने मेरो ठम्याइ रहेको छ । पक्कै पनि कविताले सामाजिकता, ऐतिहासिकता, सांस्कृतिक अवस्थाको चित्रण गर्दै गर्दा समाजका कुरूप पक्षको समेत चित्रण गरेको छ तर ती चित्रण समाज परिवर्तन र रूपान्तरणका निम्ति मार्ग निर्देशन हो भन्ने बुझ्नु पनि पर्दछ ।
साहित्य समाजसापेक्ष हुन्छ । जीवनीपरकता, समाजपरकतालाई साहित्यले सधैँ अङ्गीकार गरेको हुन्छ । साहित्यको मूल्याङ्कन गर्दा स्रष्टा कुन वर्ग र समुदायका हुन् र तिनले कुन वर्गको प्रतिनिधित्व गर्दछ भन्ने कुरालाई बिर्सनु पनि हुँदैन । यो कुरालाई आत्मसात् गर्ने हो भने सदैव गरिब, निमुखा जनताको वकालत गर्ने र वर्गमुक्त समाजको परिकल्पना गर्ने कवि शुभेच्छुको प्रस्तुत सङ्ग्रहका कविताहरूलाई विकृति र विसङ्गतिको चित्रण, व्यक्ति, स्थान, समाजका बहु आयामिक विषय वस्तुको चित्रणमा केन्द्रित मात्रै भनिरहँदा कवि र कृतिकै अपमान हो भन्ने मेरो व्यक्तिगत बुझाइ पनि हो ।
यसरी कवि रमेश शुभेच्छुको “मलामी” कविता कृति छन्दमा रचिएको प्रगतिवादी विचार र भावले सिञ्चित कविता कृति भएको मैले पाएँ । यो समीक्षात्मक अध्ययन भएकाले पनि गूढ रहस्य खोतल्ने र वैचारिक गहन विश्लेषण गर्ने भन्दा यहाँ समापरकता र जीवनीपरकताका आधारमा मूल्याङ्कन गरियो । छन्दमा सशक्त प्रगतिवादी कविता दिनु कवि शुभेच्छुको वैशिष्ट्यता हो । केही कलावादी जस्ता देखिए तापनि कवि मूलतः समाजवादी कवि हुन् भन्ने मेरो मूल ठम्याइ छ । सारतः नारा लेखेर कविता हो भन्ने र कवि भइटोपल्ने जमातमा शुभेच्छु साँच्चैका कवि हुन् भने “मलामी” साँच्चैको कविता काव्य हो ।