पाकिस्तानद्वारा राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान

२०७३ आश्विन १४ गते, शुक्रबार

काठमाडौं, १३ असोज । पाकिस्तानले राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान गरेको छ । उसले भारत प्रशासित कास्मिर क्षेत्रमा तनाव बढे पछि सुरक्षा समितिको बैठक आह्वान गरेको हो । भारत–पाकिस्तान नियन्त्रण रेखामा भारतले गरेको सैन्य कारबाही अर्थात् सर्जिकल स्ट्राइक्सपछि दुवै देशबीच बढेको तनावलाई मध्यनजर गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले मन्त्रिमण्डल र राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका हुन् । शुक्रबारका लागि बोलाइएको मन्त्रिमण्डलमा कास्मिरको स्थितिसँग जोडिएका एजेन्डाका विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा कास्मिरमा भारतको अत्याचारका बारेमा छलफल गर्न आगामी मंगलबार राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाइएको उल्लेख छ । सुरक्षा समितिको बैठकमा चारवटै प्रान्तका मुख्यमन्त्रीलाई बोलाइएको छ । यस्तै आगामी बुधबार नै संसद्को संयुक्त सत्र पनि आह्वान गरिएको छ ।
भारतले गत बुधबार राति नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक्स गरेको दाबी गरे पनि पाकिस्तानले त्यसको खण्डन गरेको छ । पाकिस्तानी भूमिमा आएर कुनै पनि कारबाही गरे त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी उसले दिएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]