मनसुन कायमै

२०७३ आश्विन २३ गते, आईतवार

काठमाडौं, २३ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुणराज पौडेलले अझै केही दिन मनसुन कायमै रहने जनाएका छन् । मनसुनी गतिविधि बाँकी नै भएकाले मध्ये र पूर्वी भागमा बदली भएर बेलुकीपख पानी पर्ने मौसमविद् पौडेलले बताए । सुदूरपश्चिमी भागमा भने मनसुनी गतिविधि केही कमजोर बनेको उनले उल्लेख गरे । सामान्यतया असोजको पहिलो साता (२३ सेप्टेम्बरमा) मनसुन सकिनुपर्नेमा केही वर्षदेखि सातादेखि दुई सातासम्म लम्बिने गरेको छ । ‘मौसमी गतिविधिले अझै मुलुकका केही भागमा मनसुन सक्रिय देखिएको छ,’ मौसमविद् पौडेलले शनिबार कान्तिपुरलाई भने, ‘मनसुन सकिन जुन किसिमको वातावरण आवश्यक पर्ने हो, त्यो देखिन्न ।’ भारतको राजस्थानमा पनि ढिलो गरी मनसुन सकिएको र त्यसैको असर यहाँ देखिएको महाशाखाले जनाएको छ ।
पौडेलका अनुसार मनसुन सकिन मुलुकभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेसनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड हुनु अनिवार्य छ । तर, अहिले मुलुकका धेरै भागमा वर्षा रेकर्ड भइरहेको छ । शुक्रबार राति र शनिबार बिहान पनि काठमाडौंसहित विराटनगर, धनकुटा, ताप्लेजुङ, भैरहवा, पोखरा र वीरेन्द्रनगरलगायतका स्थानमा वर्षा भएको छ ।
मनसुन सकिनका लागि पश्चिम वायुले पूर्वी वायुलाई विस्थापित गर्नुपर्ने हुन्छ । तर, अहिले त्यो अवस्था छैन । ‘बल्ल पश्चिमी वायु पाकिस्तान, जम्मु कश्मीरबाट प्रवेश गर्ने क्रममा छ,’ पौडेलले भने, ‘त्यो वायुले पूर्वी वायुलाई धकेल्नुपर्ने हुन्छ ।’ पश्चिमी वायु कमजोर रूपमा प्रवेश भएकाले अझै केही दिन पूर्वी र मध्येका पहाडी भागमा साँझपख बदली भएर पानी पर्ने उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]